२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आगलागी भएको डेढ महिनामै नेबिको बिस्कुटको प्लान्ट पुनः सञ्चालन

आगलागी भएको डेढ महिनामै नेबिको बिस्कुटको प्लान्ट पुनः सञ्चालन

980
Shares

काठमाडौ – बिस्कुट उत्पादन गर्ने फ्याक्ट्रीमा आगोलागका कारण बन्द रहेको नेबिको बिस्कुटले पुनः ४४ दिनपछि उत्पादन शुरु गरेको छ । नेबिको बिस्कुट प्रालिका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले आजबाट कम्पनीले पुनः बिस्कुट उत्पादन गर्न थालेको बताए ।
आज आयोजित पत्रकार सम्मेलनमा सीईओ भट्टराईले अहिले नै हामी पूर्ण रुपमा सञ्चालनमा आउन नसके पनि भैरहवा र बाजालुमा गरी उत्पादन क्षमताको ६० देखि ७० प्रतिशत उत्पादन गर्ने जानकारी गराए ।

साउन २३ गते बिहान २ बजे आगो लागेको त्यो दिनलाई नेबिको परिवारले कालो दिनको रुपमा सधै सम्झने बताउँदै उनले भने ‘त्यसयता कम्पनीको टिम दिनरात नभनी दैनिक १६ देखि १८ घण्टा खटेर आजदेखि पुनःसञ्चालन गर्न सक्ने अवस्थामा पुगको हो ।’ नेपालको पहिलो बिस्कुट कम्पनीको रुपमा ५७ वर्षदेखि उत्पादन गर्दै आएको नेबिकोले आगलागीबाट करिब ७० करोड रुपैँया बराबरको क्षति भएको जनाएको छ ।

‘दिउँसो २ बजेपछिमात्रै हामीले आगो नियन्त्रणमा लिन सकेका हौं,’ उनले भने ‘ प्रत्यक्ष रुपमा २०/२२ करोड क्षति देखिएपनि सबै जोड्दा अर्थात मेशिनहरू जडान गरेर पूर्ववत अवस्थामा उत्पादन गर्न भने अर्ब खर्च हुने देखिएको छ ।’
कम्पनीले बाजालुको प्लान्टमा आगो लागेर उत्पादन गर्न नसक्ने भएपछि भैरहवाको प्लान्टको उत्पादन बढाएर दैनिक २४ सै घण्टा सञ्चालनमा ल्याएको थियो । यसअघि उक्त प्लान्टबाट दैनिक १६ घण्टमामात्रै दुई सिफ्टमा काम हुँदै आएको थियो ।
साढे ३ सय जनाले प्रत्यक्ष रोजगारी पाएको उक्त कम्पनीले वार्षिक १ अर्ब २० करोड रुपैयाँको करोबार गर्दै आएको छ । नेबिको नेपालको पहिलो बिस्कुट फ्याक्ट्र हो । उक्त कम्पनी २०२१ सालमा स्थापना भएको थियो । कम्पनीमा ३३/३३ इन्चको दुई प्लान्ट छ । सोहीबाट विस्कुट उत्पादन गरिरहेको थियो ।

कार्यक्रममा नेबिको बिस्कुटका कार्यकारी निर्देशक राजेश रौनियारले कर्मचारीको साथ र सहयोगले छोटो अवधिमा फ्याक्ट्री सञ्चालन गर्न सकेको बताए । ‘आगो लागेपछि हामी अतालिएका थियौ,’ उनले भने ‘तर कर्मचारीहरूको सहयोगले गर्दा पुनः आगो लागेको छोटो समयमै उत्पादन गर्न सक्ने अवस्था पुगेका छौं । यदि उहाँहरूले खटिएर काम नगरेको भए अर्को ६ महिना उत्पादन हुने थिएन ।’ अहिले कम्पनिले ५० प्रकारका बिस्कुट र ३० प्रकारका कन्फेक्सनरी, कुकिजलगायतका उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij