२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साहस ऊर्जाको आईपीओमा आवेदन खुल्यो

साहस ऊर्जाको आईपीओमा आवेदन खुल्यो

2.5K
Shares

काठमाडौं– साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको हो।

निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।

कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत रु १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। स्थानियलाई ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij