काठमाडौं - कुनै समय राजधानी तथा ठूला सहर केन्द्रित भइरहेको लगानी पछिल्लो समयमा प्रदेश तथा स्थानीयस्तरसम्म पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूले प्रदेशको कृषि, पर्यटन, औद्योगिक विकासमा लगानी बढाएका छन्। बैंकिङ पहुँचमा सर्वसाधारणलाई जोड्नुका साथै प्रदेशको औद्योगिक क्षमता बढाउन विशेष ध्यान दिएका छन्। बैंकले मागका आधारमा कर्जा प्रवाह गरेका छन्।
राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले प्रदेशस्तरमै औद्योगिक विकासमा बैंकले लगानीमा प्राथमिकता दिएको देखाएको छ। बैंकको बागमती प्रदेशमा औद्योगिक क्षेत्रमा उल्लेख्य लगानी छ। औद्योगिक क्षमता र माग अधिक भएका कारण यस प्रदेशको औद्योगिक विकासमा बैंकको बढ्दै गएको हो।
केन्द्रीय बैंकले गत पुसमा गरेको अध्ययनअनुसार बागमतीमा ७ खर्ब ८२ अर्ब ९२ करोड रुपैयाँ बैंकहरूको लगानी छ। औद्योगिक क्षेत्रमा ३७.६ प्रतिशत छ। काठमाडौंमा सबैभन्दा बढी ६ खर्ब ७१ अर्ब ७२ करोड (८५.८ प्रतिशत) कर्जा लगानी भएको छ। रसुवा जिल्लामा सबैभन्दा कम ४४ करोड (०.०६ प्रतिशत) लगानी भएको छ।
कर्णाली प्रदेशको साना उद्योगमा ६ अर्ब ६९ करोड लगानी भएको छ। यद्यपि यो क्षेत्रबाट अध्ययनका लागि कुनै पनि उद्योग छनोटमा नपरेका तथा साना एवम् घरेलु उद्योगको सञ्चालन एवम् उत्पादन पनि न्यून रहेको राष्ट्र बैंकले जनाएको छ। अन्य प्रदेशको तुलनामा कर्णालीको औद्योगिक क्षेत्रमा कम लगानी छ।
बागमती प्रदेशपछि बैंकहरूले प्रदेश १ र लुम्बिनीका औद्योगिक विकासमा खर्बौं लगानी गरेका छन्। प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा १ खर्ब २८ अर्ब ४६ करोड लगानी गरेका छन्। तर यो अघिल्लो वर्षभन्दा कम हो। सो प्रदेशको उद्योगको औसत क्षमता उपयोग ५०.४ प्रतिशत छ।
लुम्बिनी प्रदेशमा बैंकको कर्जा लगानी १ खर्व १४ अर्ब २४ करोड ३९ लाख पुगेको छ। औद्योगिक क्षेत्रमा गएको कर्जाको अंश २७.३४ प्रतिशत हो। यस प्रदेशमा चाउचाउ, मदिरा, कागज, सिमेन्ट, आल्मुनियमका उत्पादन, प्लास्टिकको सामान र सेन्थेटिक कपडा उद्योगको क्षमता उपयोग घटेको छ। तोरीको तेल, गहुँको पिठो, पशुदाना र फलामको छड तथा पत्ती उद्योगको क्षमता उपयोग वृद्धि भएको छ।
सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्रमा २३ अर्ब ९२ करोड ११ लाख पुगेको छ। गत वर्षको पुससम्म यस्तो कर्जा १०.२६ प्रतिशतले वृद्धि भएको थियो। औद्योगिक क्षेत्रको कर्जाको अंश २१.७१ प्रतिशत छ।
गण्डकी प्रदेशको उद्योगको औसत क्षमता उपयोग ५६.२३ प्रतिशत छ। बैंकले गण्डकी प्रदेशको औद्योगिक क्षेत्रमा ५८ अर्ब ५५ करोड पुगेको छ। औद्योगिक क्षेत्रतर्फ २१.१६ प्रतिशत भएको छ। निर्माण क्षेत्रमा ४१ अर्ब, कृषि वन तथा पेयपदार्थ उत्पादन क्षेत्रमा ७ अर्ब २१ करोड र गैरखाद्य वस्तु उत्पादन क्षेत्रमा ६ अर्ब ९२ करोड लगानी छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij