धादिङ – धादिङ अस्पतालमा अक्सिजन प्लान्टको सोमबार उद्घाटन गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवालले धादिङ अस्पतालमा स्थापना गरेको अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।
प्लान्ट उद्घाटन समारोहमा स्वास्थ्यमन्त्री कटुवालले कोरोना नियन्त्रण गर्न योजनामा परेका कामहरुलाई निरन्तरता दिने र धादिङ अस्पतालले भोगेको भवन अभावलाई छिट्टै परिपूर्ति गर्ने विश्वास दिलाएका छन् । उनले धादिङमा सवारी दुर्घटना बढी भइरहने भएकाले पनि यस जिल्लालाई आफूले उच्चकोटीमा राखि काम गरेको बताए ।
सोमबार उद्घाटन गरिएको (15 nm3)प्लान्टले दैनिक ५५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने, थाइराइड चेक गर्ने अटोमेटिक सिलिया ल्याब र एनेस्थेसिया मेसिनको समेत उद्घाटन गरिएको छ ।
सोमबार नयाँ प्रबिधिको अत्याधुनिक मेसिनबाट थाइराइड, भिटामिन डि र भिटामिन B 12 समेत जाँच गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. त्रिभुवन चन्द्र झाले जानकारी दिए ।
धादिङ अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा शुरु भएको उक्त उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, प्रहरी प्रमुख महेन्द्र खड्का, स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेल, विभिन्न राजनैतिक दलका पार्टी प्रतिनिधिहरु, स्वास्थ्यकर्मी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij