२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

विश्व बैंकले नेपाललाई ५ अर्ब ८७ करोड सहयोग गर्ने

विश्व बैंकले नेपाललाई ५ अर्ब ८७ करोड सहयोग गर्ने

840
Shares

काठमाडौं– विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि ५ अर्ब ८७ करोड रूपैयाँ उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यससम्बन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो।

सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउनका लागि बैंकले उक्त रकम उपलब्ध गराएको हो।

कार्यक्रममा अर्थ सचिव मरासिनीले कोभिड-१९ बाट प्रभावित शिक्षा तथा स्वास्थ्य प्रणालीको उत्थानशील पुनर्निर्माण गर्न आवश्यक रहेको बताए। उनले भने, ‘नतिजा सूचकमा आधारित नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमबाट मुलुकमा दक्ष, प्रभावकारी, पारदर्शी र उत्तरदायी स्वास्थ्य प्रणाली निर्माण गर्न महत्वपूर्ण हुनेछ।’

बैंकका निर्देशक जार्वाेसले सम्झौता कार्यन्वयनसँगै नेपालको शिक्षा र स्वास्थ्य प्रणालीलाई समावेशी एवं उत्पादनशील बनाई मानव पुँजीको विकासलाई गति दिने अपेक्षा गरिएको बताए।

उनले भने,’सबैका लागि स्वास्थ्य क्षेत्रमा पहुँच, बालिबालिका र किशोरकिशोरीका लागि गुणस्तरीय नतिजा प्राप्त गर्ने शिक्षा सिकाइमा समान पहुँच सुनिश्चितताका लागि सहायताले सहयोग गर्नेछ।’

नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि उपलब्ध गराइएको थप सहायताले सार्वजनिक खरिद वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन तथा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नताका क्षेत्रमा सुधार ल्याउन सघाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij