काठमाडौं – दुई महिनाअघि अदालतबाट अन्तरजातीय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको निहुँमा श्रीमान् र ससुराबाट कुटिएको भन्दै न्याय खोज्न काठमाडौं आएकी छन् । प्रहरीबाट पनि न्याय नपाएको उनले गुनासो गरेकी छन् ।
श्रीमान उमेश साहगोढ र ससुरा जवाहिर साहगोढले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको सीताको आरोप छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘ममाथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झूठा मुद्दा लगाई थुनामासमेत राखेर यातना दिइयो ।’
अदालतबाट माग भएअनुसार धरौटी बुझाई २२ भदौमा थुनामुक्त भएको सुनाउँदै उनले सोही दिन प्रहरीकै मिलेमतोमा कोठाको साँचो नियन्त्रणमा लिई कोठाको सामानसमेत लगेको आरोप लगाइन् । कोठाबाट परिवारले ३२ इन्चको टीभी, कुलर, दराज, एक लाख रुपैयाँ नगदसहित एक थान गहना लगेको उनको भनाइ छ ।
ससुराले चक्कुले प्रहार गरेर गम्भीर अवस्थामा छाडेर गएको उनले सुनाइन् । पर्सा प्रहरीले पनि जाहेरी नलिएको र नेपालबाट भाग्न धम्की दिएको उनको आरोप छ ।
उनले कोठाबाट लगेको सामान तत्काल फिर्ता गर्न माग गरेकी छन् । श्रीमान्सँग शान्ति सुरक्षासहित पारिवारिक वातावरणमा बस्न पाउनुपर्ने पटेलको माग छ । – न्युज कारखाना
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij