२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

‘नमस्ते पे’ सञ्चालनमा, इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने

‘नमस्ते पे’ सञ्चालनमा, इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने

1.4K
Shares

काठमाडौं – इन्टरनेटबिना नै पैसा तिर्न मिल्नेगरी डिजिटल प्रणाली नमस्ते पे आजबाट संचालनमा आएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयूक्त लगानीमा मंगलबारदेखि नमस्ते पे संचालनमा आएको हो।

छुट्टै कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीमार्फत नमस्ते पे सेवा संचालनमा ल्याइएको हो। सो कम्पनीका सिइओ कृष्ण भण्डारीले हालका लागि सीमित सेवासहित नमस्ते पे सञ्चालनमा ल्याइएको र क्रमिक रुपमा सेवाको दायरा बढाउँदै लगिने बताए। यूएसएसडी सेवा अन्तर्गत हाल मोबाइल फोनबाट विभिन्न डेटा प्याक लिएजस्तैगरी कोड थिचेर आफूले तिर्न चाहेको रकम भुक्तानी गर्न मिल्नेछ।

हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ। यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले जनाएको छ। ‘इन्टरनेटबिना यूएसएसडी कोडका आधारबाट सीमित भुक्तानी मात्रै गर्न सकिन्छ, यसबाट सबै भुक्तानी गर्न मिल्दैन’ भण्डारीले भने। पहिलो चरणमा यूएसएसडी कोडका आधारमा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन्।

यूएसएसडी कोडमार्फत भुक्तानी गर्न इन्टरनेट चाहिँदैन। कम्पनीले प्रदान गर्ने कोडका आधारमा रकम भुक्तानी गर्न मिल्नेछ। यूएसएसडी कोडमार्फत भुक्तानी गर्दा मोबाइलमा भएको ब्यालेन्स पनि काटिँदैन। यसैगरी नमस्ते पे मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंकसहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ। बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीले जनाएको छ।

नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा हो। टेलिकमको मोबाइल ब्यालेन्सलाई नै पैसाको रूपमा उपयोग गर्न सकिँदैन। नमस्ते पे वालेटमा बैंक वा एजेण्ट नेटवर्क मार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानीको लागि प्रयोग गर्न सकिन्छ। मोबाइल वित्तीय सेवाको लागि बैंक, मर्चेन्ट, युटिलिटी सेवा प्रदायक, अनलाइन व्यवसाय सञ्चालक लगायतका विविध साझेदार र सरोकारवालाहरूसंग व्यावसायिक, वित्तीय सहकार्य तथा प्राविधिक अन्तरआवद्धताको विकास एवम् परीक्षण समेत गर्नुपर्ने भएकोले सम्भावित सवै किसिमका सेवाहरू एकैपटक सञ्चालन गर्न नसकिएको कम्पनीले जनाएको छ।

दैनिक उपयोगका सेवाहरूको महसुल, शिक्षा स्वास्थ्य सम्बन्धी खर्च, सरसामानको खरिदको पैसा तथा सरकारी सेवाहरू र कर सम्बन्धी दायित्वको भुक्तानी समेतका आर्थिक गतिविधिहरु विद्युतीय माध्यमबाट गर्न सकेमा उल्लेख्य सहजता हुने जनाउँदै कम्पनीले यी कारोबारको अभिलेख राख्न, पारदर्शिता सुनिश्चित गर्न तथा चुहावट कम गर्न समेत सघाउ पुग्ने कम्पनीले जनाएको छ। यही वृहत्तर उद्देश्यका साथ सेवा विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij