काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गरेका हुन्।
शनिबार बिहान मेयर शाक्यले काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाभित्र सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था भए पनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको गुनासो समेत गरे।
यस्तै, शंकरदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा कोरिडोरको पनि उद्घाटन गरिएको छ। पार्कको लागत ३७ लाख ७० हजार र कोरिडोरको करिब १ करोड ३८ लाख रूपैयाँ रहेको बताइएको छ। कोरिडोर १ सय ४० मिटर लम्बाइको छ । ‘पर्याप्त बजेट छ, तर पार्क निर्माणका लागि स्थानीयबासीको सहयोग नहुँदा कतिपय ठाउँमा बनाउन सकिएन’, मेयर शाक्यले भने। उनले राम्रो पार्क बनाउने र राम्रो करिडोर बनाउने काममा काठमाडौं महानगरपालिका प्रतिवद्ध रहेको पनि दोहोर्याए।
मेयर शाक्यले भने, ‘कम्तीमा पनि हरेक वडामा एउटा पार्क बनाउनुपर्छ भनेर नीति बनाएका छौं। सार्वजनिक जग्गाहरू धेरै छन्। हिजो भएका पार्कहरूलाई अपग्रेड गर्ने, जहाँ पार्क छैनन् नभएका ठाउँमा नयाँ पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरेका छौं। बजेटको समस्या होइन तर स्थानीयको सहयोग भएन भने काम गर्न सकिँदैन। जहाँ स्थानीयबासीहरूले सहयोग गर्छ, त्यहाँ स्वभाविक रूपमा काम गर्न सजिलो हुन्छ। जहाँ स्थानीयको सहयोग हुँदैन, अवरोध हुन्छ, त्यहाँ काम गर्न गाह्रो हुन्छ।’
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले भुकुटीमण्डपभित्र ठूलो प्रर्दशनी हल बनाउन काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराए। उनले त्यसका लागि काठमाडौं महानगरपालिकाले समाज कल्याण परिषदसँग प्रस्ताव लैजान ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij