काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने सुनिश्चित भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै श्रेष्ठले नेपालका लागि कुल ५ करोड ५० लाख खोपको आवश्यकता पर्ने बताए । असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए ।
नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्याएको उनले जानकारी दिए । हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको भन्दै उनले भने, ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’ सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५/१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने उनले बताए ।
उनले खोपलाई सरकारले प्रमुख प्राथमिकतामा राखेकाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे । ठूला-ठूला अस्पतालहरूको स्तरवृद्धि गरेर गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार लागिपर्ने राज्यमन्त्री श्रेष्ठले बताए । सरकारले १६ जिल्लामा ज्यादै संक्रमण बढेकोले सो क्षेत्रमा सरकारले खोपको विशेष व्यवस्था गर्ने जानकारी दिए । उनले निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफामुखी भन्दापनि सेवामुखी बनाउनेमा सरकार केन्द्रीत हुने दावी गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij