२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

तामाकोशी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

तामाकोशी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

945
Shares
sf7df8f}F, !) ;fpgM lqkIfLo ;dembf/Lkq x:tfIf/kl5 kmfOn cfbfgk|bfg pmhf{, hn;|f]t tyf l;FrfOdGqL kDkmf kDkmf e'';fnsf pkl:yltdf g]kfn ljB''t k|flws/0f, tfdfsf]zL hnljB't sDkgL lnld6]8 / sd{rf/L ;~ro sf]ifaLr tfdfsf]zL kfFrf}F hnljB't cfof]hgf lgdf{0fsf nflu C0f ;DaGwdf lqkIfLo ;dembf/Lkq x:tfIf/kl5 kmfOn cfbfgk|bfg ub}{ . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं – नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ ।

रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौँमा एक्लै लगानी गर्न लागेको हो । लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा आज हस्ताक्षर गरियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम र तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानले हस्ताक्षर गर्नुभयो ।

झण्डै १०० मेगावाट क्षमताको सो आयोजना असाध्यै आकर्षक भएकाले आफूहरुले लगानी गरेको कोषका प्रशासक गौतमले जानकारी दिनुभयो ।

माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचाँै अगाडि बढाउन लागिएको हो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ ।

माथिल्लो तामाकोशीको दुईवटा युनिट परीक्षण भइरहेको छ । गत असारको अन्तिम साता उद्घाटन भएको भए पनि उपकरणमा समस्या आएपछि केही दिन आयोजना बन्द भएको थियो ।

तामाकोशी पाँचौँको कूल लगानी रु १६ अर्ब रहने अनुमान गरिएको छ । कूल लगानीमध्ये रु १२ अर्ब कोषले उपलब्ध गराउँदा थप रु चार अर्ब भने प्राधिकरणले लगानी गर्ने भएको छ । परियोजना सस्तो र आकर्षक भएकाले पनि आफूहरूले खुला हृदयका साथ लगानी गरेको कोषका प्रशासक गौतमको भनाइ छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर सुरीदोभान पु¥याइनेछ । आयोजनामा कूल आठ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेछ ।

माथिल्लो तामाकोशी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई थप सहज हुने प्रमुख कार्यकारी अधिकृत प्रधानको भनाइ छ । यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि थप सहज भएको छ । माथिल्लो तामाकोशीको टेलरेस टनेललाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक बनाइएको छ ।

तामाकोशी पाँचौँमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ । आयोजनाको कूल लागतका आधारमा प्रतिमेगावाट लागत रु १६ करोड मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने छैन । माथिल्लो तामाकोशीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पनि व्यवस्थापन थप सरल देखिन्छ ।

प्रसारण लाइनसमेत तम्तयारी हालतमा रहेको, लागत सस्तो पर्ने एवम् सबै विषयले सहज भएकाले कोषले ऋण उपलब्ध गराउन लागेको प्रशासक गौतमले रासससँगको कुराकानीमा भन्नुभयो, “हामीले समग्रतामा मूल्याङ्कन गर्दा आयोजना नै सबैभन्दा आकर्षक रहेको छ ।”

आयोजनाले वार्षिक रुपमा ५४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । आवश्यक सबै काम सकेर आगामी १० महिना भित्रमा बोलपत्रको काम थाल्ने र निर्माण शुरु गरिहाल्ने योजनामा प्रवद्र्धक कम्पनी लागिपरेको छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालयमा नै सो आयोजना शुरु गर्ने प्रयास गर्नुभएको थियो ।

पूर्वऊर्जामन्त्री वर्षमान पुनले सो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गर्नुभएको थियो । आयोजनाले स्थानीय प्रभावित एवम् आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने योजना बनाएको छ । “हामीले एकपछि अर्को आकर्षक परियोजनामा लगानी गरिरहेका छौँ, तीमध्ये तामाकोशी पाँचौँ झनै आकर्षक रहेको छ”, कोषका प्रशासक गौतमले भन्नुभयो, “छिट्टै आयोजनाको काम शुरु हुनेमा हामी आशावादी छौँ ।” केही अघिसम्म सो आयोजना माथिल्लो तामाकोशीअन्तर्गत नै राख्नुपर्ने माग पनि आएको थियो । प्राधिकरणले छुट्टै कम्पनी स्थापना गरेर अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij