२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से हालसम्मकै उच्च बिन्दूमा

नेप्से हालसम्मकै उच्च बिन्दूमा

1.3K
Shares

काठमाडौं – सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । साताको पहिलो कारोबार दिन ५४.३१ अंकले बढेको बजारमा परिसूचक ३ हजार ५८.६३ अंकमा पुगेको हो । यस अघि नेप्से परिसूचक ३ हजार ३२ अंकसम्म पुगेको थियो ।सेयर बजारको परिसूचक नेप्सेले ४१ दिनअघिको उच्च अंकको रेकर्ड तोडेको छ। यस दिन बजारको परिसूचक नेप्से ५४.३ अंकले बढेर अहिलेसम्मकै उच्च अंक ३ हजार ५८ अंक कायम भएको छ। यसअघि जेठ ३१ गते ३ हजार २६ अंकको रेकर्ड बनेको थियो। यस दिन कारोबार रकम पनि बढेको छ। यसअघि बिहीबार ११ अर्ब ११ करोडको कारोबार भएकोमा यस दिन १४ अर्ब ३० करोडको कारोबार भएको छ।

कारोबार रकमको पुरानो रेकर्ड भने तोडिएको छैन। यसअघि जेठ ३० गते १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको रेकर्ड छ। बैंकिङ समूहको प्रभावकै कारण बजारमा ठूलो अंकको वृद्धि देखिएको हो। उच्च पुँजीकरणका कारण परिसूचक उतारचढावका लागि बैंकिङ समूहको प्रभाव बढी पर्ने गर्छ। सो समूह ७२ अंकले बढेको छ।

त्यस्तै ब्यापार २, विकास बैंक १३, जलविद्युत ७१, फाइनान्स २४, निर्जीवन बीमा ४८, उत्पादन ७१, अन्य ६, माइक्रोफाइनान्स ८६ र जीवन बीमा समूह ३० अंकले बढेका छन्। होटल तथा पर्यटन भने २२ अंकले घटेको छ। सो समूहबाहेक सबैजसो बढेका हुन्। यस दिन १३६ कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ। त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

जोशी हाइड्रो, हिमालय उर्जा विकास, सपोर्ट माइक्रोफाइनानस, राधि विद्युत, कालिका पावर, युनिभर्सल पावर, विशाल बजार, पन्चकन्या माइ र ङादी ग्रुपको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। अरुण काबेली, दिव्यश्वरी हाइड्रो, माउन्टेन हाइड्रो र पाँचथर पावरको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढ्यो। यस दिन ओरेन्टल होटलको मूल्य सबैभन्दा धेरै २.८ प्रतिशतले घटेको छ। समृद्धि फाइनान्स, गुडविल फाइनान्स, साल्ट ट्रेडिङ तथा गोर्खा फाइनान्सका लगानीकर्ता पनि गुमाउनेमा अगाडि रहे। ती कम्पनीकाे मूल्य साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ।

यस दिन कारोबारका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। सो बैंकको मात्रै झण्डै ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ। ग्लोबल आइएमई बैंकको ४९ करोड रुपैयाँ बराबरको कारोबार भयो। एनसिसी बैंक, अरुण काबेली, एनआइसी एसिया बैंक पनि कारोबारका आधारमा अगाडि रहे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij