२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गाउँपालिकाले दियो धितो दिन नसक्नेका लागि किसान क्रेडिट कार्ड

गाउँपालिकाले दियो धितो दिन नसक्नेका लागि किसान क्रेडिट कार्ड

1.7K
Shares

मकवानपुर- मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिट कार्ड वितरण गरेको छ। गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो। गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले महिलालाई ३.५६ प्रतिशत र पुरूषलाई ४.५६ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए।

हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहुँचमा स्वरोजगार निर्माण गर्न उक्त कार्यक्रम प्रभावकारी हुने अध्यक्ष हुमागाईंको भनाइ छ। ती कृषक जसले धितो दिन सक्दैनन् र सहज हिसाबले ऋण लिएर व्यवसाय गर्न सक्दैनन् त्यस्ता कृषकका लागि यो कार्यक्रमले सहयोग गर्ने उनले बताए।

अध्यक्ष हुमागाईंले मनकामना दुग्ध सहकारी लिमिटेडसँगको सहकार्यमा नेपाल बंगलादेश बैंक लि. मकवानपुरगढी शाखाबाट उनीहरूले ऋण प्राप्त गर्ने जनाए। नेपाल बङ्गलादेश बैंकका प्रमुख बद्रीविक्रम थापाले बैंकले किसान क्रेडिट कार्डमार्फत् पहिलोपटक नौलो कार्यक्रमअन्तर्गत ऋण लगानी गरेको जानकारी दिए।

यस कार्यक्रमले बैंक र किसान दुवैले लाभ गर्ने लक्ष्य राखेको शाखा प्रमुख थापाले बताए। यस पालिकामा कृषिमा गरिने लगानी लाभदायी हुने उनले जनाए। मनकामना दुग्ध सहकारी संस्था लि.का अध्यक्ष अर्जुनप्रसाद दाहालले दूध उत्पादन गरेर आम्दानी गर्न चाहने कृषकको लागि किसान क्रेडिट कार्यक्रमले जीवनस्तर उकास्न सहयोग पुग्ने बताए।

गाईवस्तु पालेर आम्दानी गर्न चाहने तर लगानी नभएका कृषकलाई उक्त कार्ड उपलब्ध गराउन सहकारीले भूमिका खेल्ने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij