२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अर्को हप्ता टाटा मोटर्सले नेक्सनको विद्युतीय गाडी सार्वजनिक गर्ने

अर्को हप्ता टाटा मोटर्सले नेक्सनको विद्युतीय गाडी सार्वजनिक गर्ने

1.3K
Shares

टाटाको नयाँ नेक्सन विद्युतीय एसयुभी सार्वजनिक हुँदैछ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेक्सन इभी (विद्युतीय गाडी) साउन १२ गते सार्वजनिक गर्ने भएको हो।

कम्पनीले प्रि–बुकिङ गरेका केही ग्राहकहरूलाई साउन १२ गतेदेखि नै बिक्री वितरण समेत गर्ने बताएको छ। विद्युतीय नेक्सनको बनावट निकै आकर्षक छ। यसको ब्याट्री आयु लामो हुनाले गाडी लामो दुरीको यात्राका लागि पनि सहज हुने कम्पनीले दाबी गरेको छ। गाडीलाई चालकले आफ्नै घरमा पनि चार्ज गर्न सक्छन्। यसको लागि कम्पनी आफैले ग्राहकको घरमा चार्जिङ पोर्ट जडान गरिदिने बताएको छ।

सन् २०२० को जनवरीबाट भारतमा बिक्री–वितरण सुरु भएको नेक्सन विद्युतीय गाडीले छोटो समयमै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ। भारतमा करिब ४ हजार ५ सयभन्दा धेरै परिवारहरूले रुचाएको यो गाडी हालसम्म १८ वटा पुरस्कारबाट सम्मानित भएको छ। नेक्सन विद्युतीय गाडी सबैभन्दा बढी पुरस्कारबाट सम्मानित भएर अत्याधिक लोकप्रियता कमाएको विद्युतीय गाडीमध्ये पर्ने कम्पनीको भनाइ छ।

विद्युतीय नेक्सन जिपट्रोन प्रविधिमा आधारित छ। यो तीन भेरियन्टमा उपलब्ध हुनेछः नेक्सन–इभी एक्सएम, एक्सभी प्लस र एक्सजेड प्लस एलयुएक्स। टाटा मोटर्सले नेपालमा विद्युतीय गाडीको प्रभावकारी सञ्चालनको लागि पूर्ण ‘इको सिस्टमु (विद्युतीय प्रविधि) विकास गर्ने लक्ष्य राखेको छ। यसको लागि कम्पनीले उत्कृष्ट विद्युतीय गाडी भित्र्याएसँगै आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङ्ग सुविधालगायत सुविधा प्रदान गर्ने बताएको छ।

नेक्सनको विद्युतीय मोडलको ब्याट्रीमा एक लाख ६० हजार किलोमिटर र गाडीमा एक लाख २५ हजार किलोमिटरको वारेन्टी हुनेछ। कम्पनीले गाडी मूल्य भने हालसम्म खुलाएको छैन। तर नेपाली बजारमा यसले लोकप्रियता कमाउनेमा कम्पनी र वितरण आशावादी छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij