२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, १ लाख ८४ हजार ८०१ जनाले पाए सेयर

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, १ लाख ८४ हजार ८०१ जनाले पाए सेयर

1.6K
Shares

काठमाडौं– जीवन विकास लघुवित्तको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । असार ११ गतेदेखि १५ गतेसम्म निष्काशन भएको लघुवित्तको साधारण शेयर असार २३ गते बुधबार लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालय नागपोखरीमा बाँडफाँड भएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा गोलाप्रथाबाट भाग्यमानी १ लाख ८४ हजार ८०१ जना आवेदकले शेयर पाएका छन् । बिक्री प्रबन्धकका अनुसार १ लाख ८४ हजार ८०१ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता शेयर गोलाप्राथबाट १० कित्ता शेयर पाउनेमध्ये ५ जनालाई थप १।१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।

जसअनुसार ५ जना भाग्यमानी आवेदकले थप १ कित्ता सहित ११ कित्ताका दरले ५५ कित्ता शेयर पाएका छन् भने १ लाख ८४ हजार ७९६ जना आवेदकले १० कित्ताका दरले १८ लाख ४७ हजार ९६० कित्ता शेयर पाएका छन् । लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij