काठमाडौं – जिडब्ल्युएमको गाडी नेपाली बजारमा भित्रिएको छ। ग्रेट वाल मोटर्स (जिडब्ल्युएम) चिनियाँ अटोमोबाइल्स उत्पादन कम्पनी हो। यसले ६० भन्दा बढी देशमा आफ्नो गाडी निर्यात गर्दै आइरहेको छ।
कम्पनीले तीन मोडलका गाडी सार्वजनिक गर्दै नेपाली बजार भित्रिने भएको हो। यसमा दुइटा एसयुभी- थर्ड जेन हाभल एच ६ र हाभल जोलिओन, र पिकअप वर्गको पोइर गाडी सार्वजनिक गर्ने भएको छ।
सबै मोडलको बाहिरी आवरण पृथक तरिकाले बनाइएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार आन्तरिक बनावट र सुरक्षालाई पनि ध्यानमा राख्दै यी गाडी तयार गरिएको छ। थर्ड जेन हाभल एच ६ मा २.० लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको एसयुभी हो। हाभल जोलिओन पनि कम्प्याक्ट एसयुभी हो जसमा १.५ लिटरको पेट्रोल टर्बो इन्जिन छ।
पिकअप पोइर गाडीमा भने २.० लिटरको डिजेल टर्बो इन्जिन छ। नेपालमा जिडब्ल्युएमको बिक्री तथा वितरण भि.जी. इम्पेक्स प्रा. लि.ले गर्नेछ। जिडब्ल्युएमको सोरूम थापाथलीमा छ। विस्तारै कम्पनीले अन्य ठाउँमा पनि सोरूम विस्तार गर्ने योजना बनाएको बताएको छ।
कम्पनीले छिट्टै विद्युतीय कार अरा आर १ पनि सार्वजनिक गर्ने जनाएको छ। कम्पनीका अनुसार अरा आर १ मा पृथक आन्तरिक र बाहिरी विशेषताहरू छन्। साथै यसका सुरक्षा फिचरहरू विशेष र सुरक्षित छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij