२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कोरोना महामारी बिरुद्ध लड्न इटलीद्धारा नेपाललाई सहयोग

कोरोना महामारी बिरुद्ध लड्न इटलीद्धारा नेपाललाई सहयोग

840
Shares

काठमाडौं- नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ । ती उपकरण तथा सामग्री शुक्रबार विहानै नेपाल आइपुगेको छ ।

इटालीले नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्रमध्येको एक राष्ट्र हो । अन्य राष्ट्रहरुमा स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड रहेका छन् । लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको छ ।

“यस चुनौतीपूर्ण समयमा इटाली कोरोना भाइरसविरुद्धको लडाईमा अग्रपंक्तिमा रहेको छ । यसलाई गत २१ मेमा रोममा युरोपियन कमिशनसँगको सह–आयोजनामा आयोजित विश्वव्यापी स्वास्थ्य सम्मेलनले पनि पुष्टि गरेको छ । युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रको ढाँचामार्फत नेपालका लागि प्रदान गरिएको यस राहत उडान नेपाली मित्रहरुप्रति इटालीको सहयोग र ऐक्यबद्धताको द्योतक हो । पुनः एक पटक इटालीको ब्रिन्डिसीमा अवस्थित संयुक्त राष्ट्रसंघको मानवीय प्रतिकार्य डिपो (यूएनएचआरडी) विश्वको कुनै पनि ठाउँमा हवाई उडानमार्फत मानवीय सहायता पठाउनका लागि महत्वपूर्ण सावित भएको छ”, नेपालका लागि इटालीका राजदूत महामहिम भिन्सेन्जो डि लुकाले भनेकी छन् ।

इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार थान आइसोलेशन गाउन र १० हजार थान प्रोटेक्टिभ कवरल्स् समावेश छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुल प्रतिमा पाण्डे र नेपालका लागि युरोपियन युनियनकी राजदूत महामहिम नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । टीम युरोप मर्मलाई आत्मसाथ गर्दै जर्मनी र फ्रान्सका राजदूतहरू पनि उक्त समारोहमा उपस्थित थिए ।

“लामो समयदेखिको मित्र र साझेदारका रुपमा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरुले यस कठिन समयमा नेपलालाई यस्तो सहयोग प्रदान गरिरहेका छन् । इटलीले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरुले कोभिड फैलिनबाट रोक्न सहयोग पुर्याउने विश्वास लिइएको छ । यी सामग्रीहरु तथा जनस्वास्थ्यका उपायहरुले नेपालीहरुको अमूल्य जीवन बचाउँन मद्दत पु¥याउने छ”, नेपालका लागि युरोपियन युनियनकी राजदूत महामहिम नोना डेप्रेले भनेकी छन् ।

अन्य दाताहरुको सहकार्यमा युरोपियन युनियनले सामग्रीहरुको वितरण तथा प्रयोगलाई अनुगमन गर्ने छ । नेपालमा भित्रिएका सामग्रीको परिमाण र काठमाडौंको सिनामङ्गलस्थित मानवीय स्टेजिङ्ग क्षेत्रबाट बाहिर पठाइएको सामग्रीको विवरण स्वास्थ्य मन्त्रालयको ईलजिष्टिक्स् म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम् (इलिमिस्) मार्फत अभिलेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij