काठमाडौं – आजबाट संसद विघटन मुद्दामा निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।
संसद विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।
बुधबारबाट शेर बहादुर देउवा सहितका १ सय ४६ सांसदहरुको रिटमा सुनुवाई हुनेछ । निरन्तर सुनुवाई शुरु भएपछि कुल ३२ घण्टामा बहस सिध्याउन यसअघि नै संवैधानिक इजलासले आदेश गरेको थियो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
रिट, निवेदक तर्फका कानुन ब्यवसायीलाई १५ घण्टा, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन ब्यवसायी र सरकारी वकिललाई बहसका लागी १५ घण्टा समय छुट्याइएको छ । एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij