२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिल गेट्सले डिभोर्स गरेकी श्रीमती मेलिन्डालाई दिए २.४ अर्ब डलरको सेयर

बिल गेट्सले डिभोर्स गरेकी श्रीमती मेलिन्डालाई दिए २.४ अर्ब डलरको सेयर

2.1K
Shares

काठमाडौं – दुई दिनअघि डिभोर्सको घोषणा गरेका माइक्रोसफ्टका संस्थापक तथा अमेरिकी धनाढ्य बिल गेट्सले श्रीमती मेलिन्डा गेट्सको नाममा २.४ अर्ब डलर बराबरको सेयर ट्रान्सफर गरेका छन्। वाल स्ट्रिट जर्नलका अनुसार उनीहरूले सामाजिक सञ्जालमा २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकै दिन सेयर पनि मेलिन्डाको नाममा ट्रान्सफर भएको हो।

आफ्नो नाममा सेयर आएपछि मेलिन्डा अब दुई मेक्सिकन कम्पनीहरू बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो टेलिभेसिया एसएकी ठूलो सेयरहोल्डर भएकी छन्। कोकोकाला फेस्मा भएको उनको ४.९ प्रतिशत सेयरको मूल्य बुधबार १२१ मिलियन डलर पुगेको छ भने टेलिभेसिया एसएको ६.७ प्रतिशत सेयरको मूल्य ३८६ मिलयन डलर पुगेको छ।

बिल गेट्सले क्यानडियन नेसनल रेलवे कम्पनी र अटोनेसन इन्कको पनि केही सेयर मेलिन्डाको नाममा ट्रान्सफर गरेका छन्।कुनै बेला संसारकै धनी व्यक्ति रहेका बिल गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति हुन्। फोर्ब्स म्यागजिनका अनुसार उनीसँग अहिले १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ।

बिल र मेलिन्डाले डिभोर्सको मुद्दा हाल्नुअघि नै सम्पत्ति बाँड्ने सम्झौता गरेको समाचारमा उल्लेख छ। सन् १९९४ मा विवाह गरेका उनीहरूका तीन सन्तान छन्। बिल र मेलिन्डाले सामाजिक कार्य गर्नका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि बनाएका छन्। सम्बन्धविच्छेद भए पनि फाउन्डेसनमा उनीहरूले सँगै काम गर्ने बताएका छन्।

बिल गेट्सले सन् १९७०को दशकमा माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए। मेलिन्डाले सन् १९८७ मा माइक्रोसफ्टमा प्रोडक्ट म्यानेजरको रूपमा काम सुरू गरेकी थिइन्। त्यसपछि प्रेममा परेको यो जोडीले सन् १९९४ विवाह गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij