काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ । बिहीबार मन्त्रालयले अति संवेदनशील क्षेत्र तोकिएका जिल्लाहरूमा भिडभाड हुने सबै क्षेत्रमा जमघट नगर्न अपिल गरेको हो।
मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति संवेदनशील मानेको छ।
ती जिल्लाका भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको औंल्याइएको छ। तर, ती सबै क्षेत्र बन्द गर्न नभनीकन मन्त्रालयले नजान अपिल गरेको हो।
यसरी जान नहुने ठाउँहरूमा विद्यालय, रात्रिकालीन व्यवसाय, सात बजेपछि सबै रेष्टुरेन्ट, क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा, जात्रा, सभा, सम्मेलन, बैठक, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, स्वीमिङ पुल, हेल्थ क्लब लगायत छन्।
यस्ता क्षेत्रमा सहभागी नहुन भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन पनि अनुरोध गरेको छ।
साथै, मन्त्रालयले अस्पतालहरूलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न, कोभिड परीक्षणका लागि नमूना संकलन तथा व्यवस्थापन गर्न अनुरोध गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij