काठमाडौँ- नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीले मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्लेटफर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आइपिएस तथा एनसीएचएल-आइपिएसमा रियल–टाइम वा नन–रियल टाइममा भुक्तानी कारोबारहरू गर्न सकिनेछन् ।
कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यस पश्चात् भने ग्राहकका प्रयोगकर्ताहरू आफैले तोकिएको सीमा कारोबार भित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन्, भने सो सीमा भन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँच पश्चात् प्रोसेस हुने व्यवस्था रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij