२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पत्रकार महासंघमा पोखरेल प्यानल नै विजयी (मतसहित)

पत्रकार महासंघमा पोखरेल प्यानल नै विजयी (मतसहित)

1.4K
Shares

काठमाडौं – नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल विजयी भएको छन् । शनिबार सम्पन्न मत गणनामा लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो । अध्यक्ष पोखरेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । पोखरेल प्यानलकै रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गरेका छन् । विष्टले ३ हजार भन्दा बढि मतान्तरले विजयी भएका छन् । विष्टले ६७४१ मत ल्याउँदा नेपालले ३७८१ मत ल्याएका थिए । विष्ट महासंघका निवर्तमान महासचिव हुन ।

त्यसैगरी महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई पराजित गरेकी हुन् । समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोखरेल समूहका उदय जिएम निर्वाचित भएका छन् ।

महासचिवमा पनि पोखरेल प्यानलका रोशन पुरीले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरेका छन् । यस्तै खुला सचिवमा पनि पोखरेल प्यानलकै गोविन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन् भने शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई पराजित भएका छन् । महिला सचिवमा सिर्जना अर्यालले निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् ।

आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल प्यानलका हुन् । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् ।  । उनले द्वारिकाप्रसाद काफ्लेलाई पराजित गरे । लेखा समिति सदस्यमा छविलाल तिवारी विजयी भए । सदस्यहरूमा अधिकांश पोखरेल प्यानलकै निर्वाचित भएका छन् ।

खुला सदस्यहरुमा बासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री विजयी भएका छन् । त्यस्तै सरिता तिम्सिना (खस-आर्य महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला-दलित), भीषण राई (आदिवासी जनजाति), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), प्रकाश धौलाकोटी (दलित), राधा नेपाली (महिला दलित), सुवासप्रसाद साह (सदस्य मधेसी), रिंकुकुमारी मिश्र (मधेसी महिला), नवीन रिजाल (अपांगता), इफ्तखार हसन (इकवाल अहमद) (अल्पसंख्यक) तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै अमर खड्का र दीपेन्द्र रुम्दाली राई प्रदेश १ बाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । प्रदेश २ बाट केसी लामिछाने र शिव पुरी र वाग्मती प्रदेशबाट ध्रुवकुमार रावल र सुनिल खड्का निर्वाचित भएका छन् । गण्डकीबाट प्रदीप काफ्ले र त्रिभुवन पौडेल, लुम्बिनीबाट भवानीप्रसाद पाण्डे र सुशील पोख्रेल, कर्णालीबाट दीपेन्द्र शर्मा र भीमबहादुर सिंह तथा सुदूरपश्चिमबाट उत्तरसिंह विष्ट र भरतबहादुर साह निर्वाचित भएका समितिले जनाएको छ ।

उपत्यकाबाट केन्द्रीय सदस्यमा शान्तराम बिडारी र ज्ञानप्रसाद पौडेल, प्रतिष्ठानतर्फबाट मणि दाहाल र रामकृष्ण अधिकारी केन्द्रीय सदस्य भएका छन् । यस्तै एसोसियटबाट कृति भट्टराई र विकास कार्की विजय भए ।

नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए । एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij