२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

1.8K
Shares

काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए । नेपाल खेलको सुरुवातदेखि नै हावी भएको थियो । खेलको १७ औं मिनेटमा नेपालका अनन्त तामाङको हेडर बंगलादेशी गोलकिपर अनिसुर रहमानले मुस्बिलले बचाउँदा नेपालले कर्नर पायो ।

त्यसपछि सुनील बलले प्रहार गरेको कर्नर बंगलादेशी खेलाडीले क्लियर गर्न सकेनन् । त्यसैमा अनमार्क रहेका सन्जोग राईले १८ औं मिनेटमा गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनको यो राष्ट्रिय टिममा पहिलो गोल हो । नेपाली टिमले १८ महिनापछि पहिलो पटक गोल गरेको हो । पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अन्जन विष्टले चाइनिज ताइपेइविरुद्ध गरेका थिए । त्यसपछिका ८ खेलमा नेपालले गोल गर्न सकेको थिएन ।

३० औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमायो । अञ्जन विष्टले बंगलादेशी गोलकिपर अघि बढेको अवस्थामा पेनाल्टी एरियाभित्रबाट गरेको सामान्य प्रहार पोष्टमाथिबाट बाहिरियो । यस्तै ४२ औं मिनेटमा विशाल राईले वान भर्सेस वानमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । रञ्जित धिमालको पासका संजोग राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले उत्कृष्ट गोल गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको नेपालको खेल दोस्रो हाफमा सुस्त रह्यो । उता बंगलादेशले भने दोस्रो हाफमा गोल फर्काउने प्रयासमा लागेको थियो । ६७ औं मिनेटमा बंगलादेशका यासिन अराफातको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ८३ औं मिनेटमा महबुर रहमानले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्‍याए । कप्तान जमन भुएनको कर्नरमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रहमानले उत्कृष्ट हेडर गोल गरेका थिए ।

च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । बंगलादेशले ३ हजार डलर पायो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij