काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सव तथा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर समापन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल र्याडिसनमा आयोजना गरेको मेला बुधबार समापन भएको हो । फेयरमा सहभागी मण्डला सिल्कले प्रथम स्थान प्राप्त गरेको थियो भने अग्नि नेपाल प्रालिले द्वितीय र गोर्खा चेम्बर अफ कमर्सले तृतीय स्थान हासिल गरेको थियो ।
व्यापारिक प्रदर्शनी तथा मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार पुरस्कृत गरेका थिए।
समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले महिला उद्यमीहरूको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्न कार्यक्रम सफल भएको बताए। ट्रेड फेयर आयोजक नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीहरूको स्तर तथा क्षमतावृद्धि गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता कार्यक्रमहरू गरिरहेको बताइन् ।
मेलामा मण्डला सिल्कले प्रथम स्थान प्राप्त गरेको छ भने अग्नि नेपाल प्रालिले द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै तृतीय स्थान गोर्खा चेम्बर अफ कमर्सले प्राप्त गरेको छ । मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्ता लगायतका ९० स्टल राखिएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij