२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

1.2K
Shares

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। सो ऋणपत्रको नाम ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ रहेको छ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो। सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते बन्द हुनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत १६ गतेसम्म लम्बिनेछ।

सो ऋणपत्रको अवधि १० वर्षको रहेको छ। बैंकले वार्षिक ८.५० प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गरिने जनाएको छ।

ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई औषत कर्जा जोखिम जनाउने इक्रा इस्युअर रेटिङ्ग ए माइनस रेटिङ्ग प्रदान गरेको छ। त्यसैगरी, इक्राले ऋणपत्रलाई कम कर्जा जोखिम जनाउने इक्रा एलए माइनस रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij