काठमाडौं – साना किसान लघुवित्त वित्तीय संस्थाले १२ हजार बढी कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्ने भएकोे छ । लघुवित्तले ३ हजार ३ सय ६८ कित्ता संस्थापक शेयर र ९ हजार ७४ कित्ता साधारण शेयर बिक्री गर्ने जनाएको छ । हकप्रद जारी गर्ने क्रममा बिक्री नभएका शेयर लिलामी गर्न लागेको कम्पनीले जनाएको छ ।
संस्थाले २०७२ साल मंसिर २५ गतेदेखि २०७२ साल पौष ३० गतेसम्म हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो। लिलामीको शेयरको न्यूनतम कबोल मूल्य एक सय रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले फागुन २८ गते शुक्रबारबाट चैत १३ गतेसम्म नबिल इन्भेष्टमेन्टको कार्यालय वा साना किसान लघुवित्तका तोकिएका कार्यालयबाट फाराम प्राप्त गरी आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
अहिले यो कम्पनीको साधारण शेयर दोस्रो बजारमा १ हजार ६ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij