काठमाडौं– सेयर बजारको परिसूचक नेप्से बिहीबार २५ अंकले बढेको छ। २५.२३ अंकले बढेको परिसूचक २६३६ अंकमा कायम भएको छ। आजको यो अंक हालसम्मकै उच्च हो। तीन दिनयता परिसूचकले नयाँ रेकर्ड बनाइरहेको छ। यस दिन ८ अर्ब ७६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
समूहगत रुपमा हेर्दा बैंकिङ २३, ब्यापार ७२, होटल ४, विकास बैंक ६२, जलविद्युत १८, फाइनान्स ५, उत्पादन २० र अन्य ५३ अंकले बढेका छन्। निर्जीवन बीमा समूह ५०, जीवन बीमा १०९ र माइक्रोफाइनान्स समूह २८ अंकले घटेका छन्। यस दिन नेपाल हाइड्रो डेभलपर्स, कर्णाली डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक ‘कन्भर्टिवल प्रिफरेन्स’ सेयर, बेस्ट फाइनान्स, सिभिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र समृद्धि फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढ्यो।
ग्रीन डेभलपमेन्ट बैंकको मूल्य ९.२५ प्रतिशतले बढ्यो भने चन्द्रागिरि हिल्सको मूल्य ८.८ प्रतिशतले बढ्यो। कारोबारका आधारमा यस दिन एनआइसी एसिया बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ५६ करोड रुपैयाँ बराबरको कारोबार भयो। सो बैंकको मूल्य प्रतिकित्ता ४० रुपैयाँले बढेर ९६३ रुपैयाँ कायम भयो।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ५० करोड रुपैयाँको सेयर किनबेच भयो भने मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ५४६ रुपैयाँ कायम भएको छ। त्यसपछि धेरै कारोबार हुनेमा सिभिल बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल टेलिकम क्रमश रहे।
यस दिन गुमाउनेमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ४.९ प्रतिशतले घटेको छ। त्यस्तै हिमालय उर्जा विकास कम्पनीको मूल्य ३.७ प्रतिशतले घटेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij