काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको प्रि अलोटमेण्ट फागुन ४ गते हुने भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलले शुक्रबार अन्तिम बाँडफाँट गर्ने तयारी स्वरुप मंगलवार प्रि अलोटमेण्ट गर्न लागेको हो ।
कम्पनीको आईपीओमा १३ लाख ३७ हजार ९४२ जनाको आवेदन परेको छ । यी आवेदकहरुबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताको लागि खरिद आवेदन परेको हो । जुन मागभन्दा ७ दशमलव ३७ गुणा बढी हो ।
कम्पनीले माघ २३ गतेदेखि सर्बसाधरणको लागि ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सार्वजनिक निष्कासन गरेको थियोे । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता शेयर समेत जोडेर ३४ लाख ९६ हजार ४०० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
कुल कित्तामध्य १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको छ ।
कम्पनीले आईपीओ विक्री गर्न कम्पनीले माघ २ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई पनि शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस कम्पनीले खानीखोला १ जलविद्युत आयोजना सञ्चालक गरिरहेको छ । नयाँ आयोजना निर्माणको क्रममा कम्पनीले दोलखा जिल्लामा ४० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाबाट २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij