२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लुम्बिनी केबलकारको प्रधानमन्त्रीले गरे शिलान्यास

लुम्बिनी केबलकारको प्रधानमन्त्रीले गरे शिलान्यास

2.1K
Shares

बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गरेका छन्। लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।
उनले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ यो केबलकार लोकप्रिय बन्ने बताए । उनले बुटवल ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुर्याउने अपेक्षा व्यक्त गरे ।

अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएका छन् र यसबिचमा लुम्बिनी केबलकार रोलमोडल बन्ने बताए । मुख्यमन्त्री शंकर पोखरेलले विकास सबैका लागि हो, यो आयोजनाबाट लुम्बिनी प्रदेशका हामी सबै खुशी रहेको बताए ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप यो आयोजना सुरु गरेको बताए ।
उनले प्राकृतिक सौन्दर्यले समेत सुशोभित यस सुन्दर पुण्यभूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय साझेदारीको माध्यमबाट यहाँका नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत् देशको समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“मलाई लाग्छ यस्ता संरचनाहरु राष्ट्रका एवं स्थानीय नागरिकका आफ्नै सम्पत्ति हुन् । छोटै समयमा आज चन्द्रागिरि केबलकार काठमाडौँबासीको मात्र नभएर नेपाल भ्रमणमा आउने विदेशी विशिष्ट व्यक्तित्वहरुको पनि एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको कुरा यहाँहरु सबैलाई अवगत नै छ । यसले देशको अर्थतन्त्रका साथै स्थानीयको जीवनस्तर उकास्न पनि उत्तिकै योगदान गरको छ,” उनले भने।

राज्य निजी क्षेत्र साझेदारीको उत्कृष्ट नमूना हामीले मलेसियालाई लिन सक्छौं भन्दै ढकालले यदि राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सक्ने बताए ।
उनले नेपालमा पनि लगानीका लागि तीनवटै तह सरकारको तर्फबाट निजी क्षेत्रलाई सहजीकरण गरिदिने र राज्य–निजी क्षेत्र साझेदारिताको नेपाल सरकारको नीतिलाई ठोसरुपमा व्यवहारमा उतार्ने हो भने यहाँ पनि लगानीको वातावरण बन्न गई छोटो समयमा विकासको राष्ट्रिय लक्ष्य प्राप्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij