काठमाडौं – कालिका पावर कम्पनीले पुस मसान्तसम्म अवधिमा ५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको जनाएको छ। अघिल्लो पुस मसान्तसम्मको तुलनामा कम्पनीले ९१.४६ प्रतिशत नाफा बढाएको हो ।
कम्पनीले १३ औं वार्षिक साधारणसभामा कम्पनीका सञ्चालक पदम गुरूङले सुरूवाती दिनमा नाफा नभएपनि पछिल्ला वर्ष कम्पनी लगातार नाफामा गइरहेको भन्दै अर्को वर्षबाट बोनस बाँड्ने निर्णय भएको बताए ।
कम्पनीले हालसम्म विद्युत विक्री गरेर ११ करोड २७ लाख ७३ हजार ३३६ रुपैयाँ आम्दानी गर्न सफल भएको जनाएको छ। कम्पनीले विगतको तुलनामा ३.१५ प्रतिशत बढी विद्युत विक्री गरिरहेको गुरुङको भनाई छ ।
२०६४ साल फागुन २४ गते गोरखामा दरौदी कालिका हाइड्रो प्रा.लि.का रूपमा दर्ता भएको संस्था २०७२ साल असोजदेखि पब्लिक कम्पनी कालिका पावर कम्पनी लिमिटेड बनेको थियो । कम्पनीले गोरखाको अजिरकोट गाउँपालिकाको मुच्चोक, सौरपानीमा बहने दरौंदी खोलाबाट २०७३ सालदेखि ६ मेगावाट विद्युतको व्यापारिक रूपमा उत्पादन गर्दै आएको छ।
कालिकाले छिट्टै ४ वटा जलविद्युत आयोजनामा लगानी गर्ने गरी अध्ययन अगाडि बढाएको कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक विक्रम पाण्डेले जानकारी दिए । कम्पनी सचिव किशोरकुमार डंगोलकाअनुसार ४२ लाख कित्ता संस्थापक शेयर, ६ लाख कित्ता कर्मचारी सेयर र १२ लाख कित्ता सर्वसाधारणको गरी कम्पनीको कुल शेयर ६० लाख कित्ता छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij