काठमाडौं – स्वर किन्नरी तारा देवीको पुण्य स्मृतिमा सदाझैं यस वर्ष पनि तारा देवी स्मृति फाउण्डेशनले “सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम” गर्ने भएको छ । १५ औं स्मृतिमा हुन लागेको कार्यक्रममा अजर अमर गीत संगीतलाई जीवन्त राख्न तारा देवीका एक दर्जन भन्दा बढी गीत प्रस्तुत गरिनेछ ।
कार्यक्रममा ज्ञानु राणा, लामो समय गीत गाएर भर्खरै मात्र गिनिज बुकमा नाम लेखाएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर, प्राश्ना शाक्य, सरिता शाही, गीता पाण्डे, एञ्जेला श्रेष्ठ, सुजाता बर्मा लगायत अग्रज साथै अनुज गायक, गायिकाबाट गीत संगीत प्रस्तुत गरिने फाउण्डेशनका अध्यक्ष तथा काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्ष दीपक केसीले जानकारी दिए ।
कार्यक्रमबारे जानकारी दिन आयोजना गरिएको प्रेस मिटमा तारा देवीका गीतसँग जोडिएका विभिन्न सर्जकहरुलाई हरेक वर्ष सम्मान गर्दैै आएको पनि उनले जानकारी दिए ।
शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले सम्मानको सबैभन्दा ठूलो क्षेत्र नै सांगितिक क्षेत्र भएको बताउँदै श्रष्टाहरुले विश्वमा नेपाललाई चिनाइरहेको बताए । उनले रोयल्टीको सिष्टमलाई व्यवस्थित गर्नु नै श्रष्टाहरुको ठूलो सम्मान भएको बताए ।
सम्झनामा तारा देवी कार्यक्रममा यस वर्ष रचनाकार भैरवनाथ रिमाल “कदम”, संगीतकार गणेश परियार तथा गायिका ज्ञानु राणालाई नगद र ताम्रपत्र सहित सम्मान गरिनेछ । काठमाडौं महानगरपालिकाको सहकार्यमा राष्ट्रिय सभागृहमा शुक्रबार १२ बजे कार्यक्रम हुन लागेको हो ।
स्वर किन्नरी तारा देवीका कालजयी गीतहरुको संरक्षण र प्रवद्र्धन गरी नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यसहित २०७५ सालमा तारा देवी स्मृति फाउण्डेशन विधिवत रुपमा स्थापना भएको हो । तारा देवीका सुपुत्र रवि श्रेष्ठ संरक्षक रहेको फाउण्डेशनमा चेतन कार्की, किरण खरेल, दिनेश अधिकारी, रामबीर मानन्धर सल्लाहकार छन् । फाउण्डेशनको उपाध्यक्षमा भुवन चन्द थापा, महासचिवमा शोभन सैंजू, कोषाध्यक्षमा रमेश थापा र सदस्यहरुमा मिरा राणा, शुभ बहादुर सुनाम र दिपक आचार्य रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij