काठमाडौं– यसै साता चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड हुने भएको छ। आगामी शुक्रबारसम्ममा आइपीओ बाँडफाँड गर्ने तयारी गरेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गर्नेछ।
कम्पनीले बिक्री गरेको आइपीओमा अन्तिम दिनसम्ममा १७.५३ गुणा बढी अर्थात १२ लाख ५१ हजार १० जनाको आवेदन परेको छ। यो आइपीओमा परेको सबैभन्दा बढी आवेदन हो।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार कम्पनीको शेयरमा १२ लाख ५१ हजार १० जना आवेदनबाट २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता अर्थात २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर माग गरिएको छ।
हालसम्म उपलब्ध तथ्याँकलाई आधार मान्दा कम्पनीको आइपीओमा आवेदन गर्ने १ लाख ३९ हजार ६०२ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् भने ११ लाख भन्दा बढी आवेदकको हात खालि हुने देखिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij