काठमाडौ -चन्द्रागिरी हिल्स लिमिटेडले आज (पुस २४ गते) देखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो।
त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। त्यसपछि बाँकी रहने कुल १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
पछिल्लो समय आईपीओमा साढे १० लाख लगानीकर्ताले आवेदन दिन थालिसकेका छन्। कम्पनीले सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर मात्र बिक्रीमा ल्याएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट १ लाख ३९ हजार ६०२ जनाले मात्र न्यूनतम १० कित्ता शेयर पाउनेछन्।
यद्यपी कम्पनीकाे आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेकाे छ। सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्काशन छिटोमा पुस २८ गते बन्द हुनेछ भने त्यस अवधीमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म म्याद थप हुनेछ।
चन्द्रागिरी हिल्सलाई इक्रा नेपालले इक्राएनपीआईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय राफसाफको सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
यस अघि स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको यस कम्पनीको चुक्ता पूँजी यस आईपीओ बाँडफाँटपश्चात १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्ने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij