सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता भएको छ ।
सम्झौता पत्रमा सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर÷प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंकका तर्फबाट संचालक तथा मर्जर÷प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका हुन् ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजतप्राप्त, बुटवलमा प्रधानकार्यालय रहेको तिनाउमिसन डेभलपमेण्ट बैंकलाई प्राप्तिगर्ने गरी अन्तिम सम्झौता भएको हो ।
सम्झौता अनुसार तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्तापूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।
दुवै बैंकले आ—आफ्नो विशेष÷साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्ने जनाएको छ । दुवै बैंकबीच गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर भएको थियो ।
पुस २२ गतेसम्ममा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२४ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०२ अर्ब रुपैयाँ पुग्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij