नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि माघ २ गतेदेखि साधारण शेयर निष्काशन गर्ने भएको छ । धितोपत्र बोर्डले पुस १० गते बैंकलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको थियो । बैंकको शेयर छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गते निष्काशन बन्द हुनेछ ।
साधारण शेयर निष्काशनका लागि बैंकले पुस २१ गते मंगलबार आह्वानपत्र सार्वजनिक गर्दैछ । जारी पूँजी २० अर्ब रुपैंया रहेको बैंकले ४० प्रतिशशतले कायम हुने ८ अर्ब रुपैंयाको शेयर निष्काशन गर्न लागेको हो । अहिलेसम्मकै सबैभन्दा ठुलो प्राथमिक निष्काशन गर्न लागेको बैंकले कर्मचारीका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता शेयर छुट्याएको छ । त्यसैगरि सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ४० लाख कित्ता शेयर छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ ।
गत मंसिर ३ गते सम्पन्न बैंकको साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो । सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।
बैंकको अधिकृत पूँजी ४० अर्ब र संस्थापकहरुबाट चुक्ता भएको पूँजी १२ अर्ब रुपैंया छ । सर्वसाधारणहरुलाई ८ अर्बको शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।
बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij