काठमाडौ – सेयर कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन घटेको छ। नेपाल धितोपत्र बोर्डले पुस १२ गते आइतबार देखि लागू हुनेगरी कमिसन घटाएको हो। बोर्डका अनुसार पछिल्लो समय ८५ प्रतिशत बढी सेयर कारोबार अनलाइनबाट हुँदै आएको छ।
लगानीकर्ता आफैले अनलाइनबाट कारोबार गरिरहँदा पनि ब्रोकर कमिसन पुरानै, महँगो भएको भन्दै लगानीकर्ताले कमिसन घटाउन दवाव दिँदै आएका थिए।
यसअघिसम्म ब्रोकर कमिसन ०.४ देखि ०.६ प्रतिशतसम्म लाग्दै आएको थियो। अब भने ०. २७ देखि ०.४ प्रतिशतसम्म शुल्क लाग्ने भएको छ।नयाँ व्यवस्थाअनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ। त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्ने छ।
५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०. ३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ।
बोर्डले ३३ प्रतिशत कमिसन घटाएको हो। घटाइएको कमिसनले पुँजी बजारको विकास र विस्तारमा टेवा पुग्ने बोर्डले जनाएको छ।
त्यस्तै नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा संस्थागत ऋणपत्र खरिदबिक्री गर्दा ५ लाख रुपैयाँसम्मको कारोबारमा ०. १० प्रतिशत, ५ लाखदेखि ५० लाखसम्म ०.०५ प्रतिशत र ५० लाखदेखि माथिको कारोबारमा ०.०२ प्रतिशत शुल्क लाग्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij