२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेका युवकको मृत्यु

टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेका युवकको मृत्यु

2.6K
Shares

दाङ – टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरले आइसियूमा उपचाररत् थापाको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको जनाएको छ ।

शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर उनी गम्भीर घाइते भएका थिए।
साथीहरूसँग गाडी लिएर उनी पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। थापा टिकटक बनाउन भन्दै बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए। लामो समय झुन्डिएपछि हात गलेर उनी झन्डै २० मिटर तल बगरमा खसेका थिए।

प्रहरीका अनुसार पिकनिकमा मदिरा सेवन गरेपछि साथीले त्यसो नगर्न आग्रह गर्दागर्दै पनि थापा टिकटक बनाउन भन्दै पुलमा झुन्डिन गएका थिए।

पुलबाट खरेर गम्भीर घाइते थापालाई उनकै साथीहरूले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि सोही दिन बेलुका सवा ६ बजे थापालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो।

उनी पुलबाट बगरमा बजारिएका थिए। उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोट पटक लागेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij