२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सबै नेपालीलाई चाडै नै कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउँछौं -अर्थमन्त्री पौडेल

सबै नेपालीलाई चाडै नै कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउँछौं -अर्थमन्त्री पौडेल

2.5K
Shares

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिडको असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा सम्पन्न नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन सरकारले ल्याएका राहतका प्याकेजबाट निजी क्षेत्रले अधिकतम लाभ लिनसक्नुपर्ने बताएका हुन् ।
सरकारले घोषणा गरेका राहत, सहुलियत र उत्प्रेरणाका कार्यक्रमको अधिकतम उपयोग निजी क्षेत्रले गर्न सके देशको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सकिने उनको दाबी छ । सरकारले घोषणा गरेका यस्ता प्रबन्धहरु प्रयाप्त नभएमा निजी क्षेत्रसँग छलफल गर्न आफू तयार रहेको पनि अर्थमन्त्री पौडेलले बताए ।
अर्थमन्त्री पौडेलले विश्व कोभिड–१९ को महामारीबाट आक्रान्त रहेको दोहोर्याउदै भने, ‘आर्थिक र सामाजिक क्षेत्र यसबाट समस्यामा छ। आर्थिक सामाजिक जिवनलाई पुर्ववत अवस्थामा फर्काउनु पर्ने चुनौती आइपरेको छ । मैले कोभिड विरुद्धको लडाईमा सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्र सामाजिक जिवनका व्यक्तीहरु र नागरिकबीच जुन प्रकारको सहकार्य भइरहेको छ । कोभिडको लक्षण देखिएका संक्रमित व्यक्तहरुको परिक्षण र उपचार गर्नुपर्ने अवस्थामा रहेका विरामीहरुको जिम्मा सरकारले लिन्छ । नागरिकको जिवनको रक्षा सरकारको प्राथमित्ता रहेकोले संक्रमितहरुको परिक्षण र उपचार गर्नुपर्ने सबै नेपालीको जिम्मा सरकारले लिन्छ यसका साथै थप राहत प्याकेज पनि ल्याउने छौँ ।’

अर्थमन्त्री पौडेलले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने पनि बताएका छन् । उनले भने, ‘हामी बिना बिलम्ब गुणस्तरिय भ्याक्सिन तुलनात्मक रुपमा सस्तो मूल्यमा आयात गछौँ । सबै नेपालीलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यावस्थापन गर्ने सरकारले तयारी गरिरहेको छ । चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराएर नेपालीको बाच्ने अधिकारलाई सुरक्षित गछौँ ।’

अर्थमन्त्री पौडेलले कोरोना महामारीका कारण जति पनि असरहरु भएका छन् त्यसबाट अब हामीले कसरी बाहिर निस्किन सक्छौँ र पहिलाकै अवस्थामा फर्कन सक्छौँ भन्ने चुनौतीपुर्ण प्रश्न खडा भएको बताए । महामारीमा रोजगार गुमाएकालाई कसरी रोजगारी दिने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको पनि उनले बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन कोभिडको मापदण्ड पालना गरेर व्यवसायीक गतिविधिलाई अगाडि बढाउनुको विकल्प नरहेको बताए । कोभिडकोबीचमा पनि कतिपय सूचकहरु सकारात्मक रहेकाले अर्थतन्त्रमा ठूलो क्षति नपुगेको दाबी गभर्नर अधिकारीको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिडबाट प्रभावित अर्थतन्त्रको सुधारका लागि सरकारले स्वेतपत्र जारी गर्नुपर्ने बताए । यस्तै निजी क्षेत्रलाई प्रवद्र्धन गर्न आयकरमा सहुलियत दिनुपर्ने, भ्याटको दर घटाउनुपर्ने, चेक बाउन्सको समस्या समाधानका लागि छुट्टै नीतिनियम ल्याउनुपर्ने माग समेत गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको कारण व्यवसाय बन्द हुने अथवा क्षमता अनुसार सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको बताए । त्यसैले बन्द उद्योग व्यवसायलाई पुनस्थापना गरी रोजगारी अभिवृद्धि गर्ने, सरकारी राजश्व बढाउने सम्बन्धमा सरकारको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij