काठमाडौं- काठमाडौंको कलंकीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईको आज मृत्यु भएको छ। घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुनेमा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेल र अर्का रञ्जितकुमार चौधरी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। यसअघि घटनास्थलमै ओखलढुंगा घर भई सडकमा मागी हिँड्ने शङ्कर परियारको मृत्यु भएको थियो।
उक्त घटनामा घाइते भएका रामचन्द्र सिंखडा, सुमन मानन्धर, विशाल श्रेष्ठ, गणेश शर्मा, साजन खत्री, सन्ध्या थिङ र रामबहादुर खरालको उपचार जारी छ। हेटौंडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको ट्रक अनियन्त्रित भई कलंकीस्थित कालिका पेट्रोलपम्प नजिक ओरालोबाट पर्खाल भत्काउँदै घरमा ठोक्किन पुगेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij