२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजारमा नयाँ रेकर्ड, ९ अर्ब नाघ्यो कारोबार

सेयर बजारमा नयाँ रेकर्ड, ९ अर्ब नाघ्यो कारोबार

2.3K
Shares

काठमाडौं– सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलाे दिन आइतबार भएकाे कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७५ अंकले बढेको छ। यो अंकको वृद्धिसँगै नेप्सेले १९६८ अंकको नयाँ रेकर्ड बनाएको छ। यसअघि बिहीबार १८९३ अंकको उच्च रेकर्ड बनाएको थियो।

दिउँसो १ बजेर २ मिनेट जाँदा नेप्सेले १९७१ अंकसम्म छोएको थियो। नेप्सेले उच्चतम अंकको रेकर्ड बनाइरहँदा कारोबार रकममा पनि उछाल आएको छ। यस दिन ९ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। एकै दिन भएकाे आजको कारोबार रकम पनि हालसम्मकै उच्च हो।

२ करोड ५९ लाख बढी कित्ता सेयर किनबेच भएको छ। वाणिज्य बैंकहरु (बैंकिङ समूह) को सेयर मूल्यमा अत्याधिक वृद्धि हुँदा यस दिन समग्र नेप्से परिसूचकमा ठूलो उछाल आएको हो। यस दिन सो समूह ११२ अंकले बढेको छ। विकास बैंक समूह १७३, जलविद्युत २६, फाइनान्स १२, अन्य ०.२५, माइक्रोफाइनान्स २७, जीवन बीमा समूह २४५ अंकले बढेका छन्।

निर्जीवन बीमा समूह ४५, उत्पादन ३७, ब्यापार ३५ र होटल समूह ७ अंकले घटेका छन् । कतिपय बैंकमा १० प्रतिशत बढेको मूल्य तिर्न खोज्दा पनि लगानीकर्ताले सेयर खरिद गर्न पाएका छैनन्। यस दिन १ दर्जनभन्दा धेरै वाणिज्य बैंकहरुको मूल्य १० प्रतिशतकाे हाराहारीमा अर्थात साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै दोस्रोमा रहेको कुमारी बैंकको ४० करोड, नविलको ३३ करोड, प्रभुको ३३ करोड रुपैयाँ बराबरको कारोबार भयो।

इन्भेष्टमेन्ट र सेन्चुरी कमर्सियल बैंककाे मूल्य १० प्रतिशतले बढेको छ। सनराइज, माछापुच्छ्रे, नेपाल बंगलादेश, प्रभु, मेगा, कुमारी, ग्लोबल आइएमई, सिटिजन्स, लक्ष्मी, हिमालय, एनसिसी र सिभिल बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

यस दिन विशाल बजार कम्पनीका लगानीकर्ताले भने १० प्रतिशत मूल्य गुमाएका छन्। सो कम्पनीको मूल्य प्रतिकित्ता ४ सयले घटेर ३ हजार ६ सय कायम भएको छ। आँखुखोला जलविद्युतको मूल्य करिब ६.२५ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij