२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१२ वटा चिया उद्योगले पाए सरकारी ट्रेडमार्क

१२ वटा चिया उद्योगले पाए सरकारी ट्रेडमार्क

1.6K
Shares

काठमाडौं– १२ वटा चिया उद्योगले सरकारी ट्रेडमार्क चिह्न लिएका छन्। मंगलबार कफी विकास बोर्डको आयोजनामा फिक्कल इलाममा भएको एक कार्यक्रममा कृषि तथा पशुपंछी विकास मन्त्री घनश्याम भुसालले राष्ट्रिय चिया तथा नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा ल्याएका छन्।
अर्थोडक्स चियाको राष्ट्रिय प्रतीक चिन्ह (लोगा) ‘नेपाल टी’ रहेको छ। पहाडी भेगमा उत्पादन हुने चियालाई अर्थोडक्स चिया भनिन्छ।
‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका १२ वटा चिया उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत दिइएको छ।
सन्दुक्फु टी प्रोसेसर्स, हिमालय साङ्ग्रीला टी प्रोड्युसर्स, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, जस्बिरे टी प्रशोधन उद्योग, सगरमाथा टी स्टेट प्रालि, ब्रोक्रेडाँडा अर्गानिक अर्थोडक्स चिया प्रशोधन उद्योग, सिंहदेवी चिया उत्पादक सहकारी संस्था, गोर्खा टी स्टेट प्रालि, नेपाल ग्रिन टी एण्ड स्पेसियालिटी, ओएसिस टी इन्डष्ट्रिज, तारा गाउँ टी स्टेट र साखेजुङ्ग हिल रेञ्ज चिया प्रशोधन उद्योगले ट्रेडमार्क पाएका हुन्।
‘ट्रेडमार्क’प्रयोगका लागि ४२ वटा चिया उद्योगहरूले निवेदन पेश गरेका थिए।
‘ट्रेडमार्क’ उद्योग विभागमा २०७२ असार २२ गते नै दर्ता भएको थियो। तर यो ट्रेडमार्क प्रयोगमा ल्याउन केही कानुनी तथा प्राविधिक कठिनाइहरू रहेकाले ट्रेडमार्क दर्ता भएपनि प्रयोगमा आउन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij