२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल विद्युत प्राधिकरणद्धारा स्मार्ट मिटर जडान सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा स्मार्ट मिटर जडान सुरु

2.4K
Shares

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन् ।

मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने छ । स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ ।

स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नु पर्ने छैन । विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबार्ट मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने छ । मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुने छ । कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने छ । स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमाण्ड चुहावट नियन्त्रण हुन्छ । प्राधिकरणले पहिलो चरणमा देशभरका ८ हजार २ सय २२ टाइम अफ डे (टिओडी) मिटरहरुलाई स्मार्ट बनाइसकेको छ । दोस्रो चरणमा देशभरका करिब १ लाख २५ हजार थ्रि फेज होल करेन्ट मीटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ । यस्ता करिब १८ हजार मीटर जडान भइसकेका छन् । ६० हजार मिटर जडान भइरहेको छ । नयाँ थ्रि फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ ।

स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन व्याकबोन’ काठमाडौं उपत्यकाभरीलाई हुने गरी जडान गरिने छ । यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब १ अर्ब रुपैयाँ रहेको छ । यसमा एसियाली विकास बैकले सहुलितपूर्ण ऋण दिएको छ ।

काठमाडौं उपत्यकामा हाल रहेका करिब ४ लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ ।

कार्यक्रममा मन्त्री पुनले सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकरण र चुस्तता कायम गर्नु भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुवात एउटा कोशेढुंगा भएको बताए ।

‘स्मार्ट मिटरको जडान मात्रै हैन, संघीय राजधानीलगायत मुलुकका मुख्यमुख्य सहरमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सहरी सौन्दर्यता बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेका छौं’, प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भने, ‘प्राधिकरणको प्रस्तावमा विद्युत नियमन आयोगमार्फत इतिहासमै पहिलोपल्ट उपभोक्ता महसुल घटाएका छौं भने प्राधिकरणलाई दुई वर्षदेखि सबैभन्दा बढी नाफा कमाउने मुलककै एक नम्बरको संस्था बनाउन सफल भएका छौं, इमान्दार प्रयास गरिएमा गर्न सकिन्छ भन्ने पुष्टी भएको छ ।’ उनले मुलुक छिट्टै ऊर्जामा आत्मनिर्भर हुने पनि बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि स्वतपत्रमार्फत घोषणा गरिएको ५ वर्षभित्र स्मार्ट ग्रिड र मिटरमिटर लागू गर्ने भनिएको कार्यक्रम कार्यान्वयनको उत्साहजनक प्रगति रहेको बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सय देखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij