काठमाडौं – सरकारले अनुमति पाएका सबै निजी प्रयोगशालाहरूले शुल्क लिएर कोरोना भाइरस (कोभिड १९ )को परीक्षण गर्न पाउने व्यवस्था स्वीकृत गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना परीक्षणको लागि स्वीकृति दिइएका प्रयोगशालालाई सशुल्क परीक्षणको लागि अनुमति दिइएको जानकारी गराए।
यसअघि मन्त्रालयले आफूखुसी निजी प्रयोगशालाहरूलाई छानीछानी शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको थियो। मन्त्रालयले सुरूमा काठमाडौं मेडिकल कलेज र स्टार अस्पताललाई शुल्क लिएर परीक्षण गर्ने अनुमति दियो। पछि ह्याम्स अस्पताललाई पनि कोरोना परीक्षणको अनुमति पायो।
अब परीक्षण स्वीकृति पाएका सबै प्रयोगशालाहरूले सरकारले तोकेको ५ हजार ५ सय रुपैंयाँ लिएर कोरोना परीक्षण गर्न पाउने छन्।
सरकारले अस्पतालहरूले तोकेको शुल्कको १० प्रतिशत बढी शुल्क लिएर शंकास्पद व्यक्तिहरूको स्वाब संकलन गरेर तोकिएको प्रयोगशालामा परीक्षण गर्न पाउने मन्त्रालयले जनाएको छ। अस्पतालहरूले त्यसरी संकलन गरेको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको प्रयोगशालामा मात्र परीक्षण गर्न पठाउनु पर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij