काठमाडौं- अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा नेपाल गुणस्तर प्रमाण चिह्न लिने उद्योगहरु बढेका छन् । नेपाल नापतौल तथा गुणस्तर विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा १६ वटा उद्योगका १९ वटा उत्पादनले गुणस्तर चिह्न पाएकोमा गत आवमा बढेर ३२ वटा उद्योगका ५२ उत्पादनले सोको प्रमाणपत्र पाएका छन् । गत आवमा गुणस्तर प्रमाण चिह्न प्राप्त गर्नेमा १२ वटा सिमेन्ट उद्योग, १२ वटा ग्यास उद्योग, ७ वटा पीपीसी तथा यूपीभीसी उद्योग, ५ वटा एचडीपीई पाइप उद्योग, ३ वटा फलामे छड उद्योग र दुईवटा तार उद्योग रहेका छन् । ग्यास उद्योगहरुमा शक्ति ग्यास प्रालि, मेची ग्यास प्रालि, भेरी ग्यास प्रालि, नमस्ते ग्यास प्रालि, सिमेन्ट उद्योगहरुमा हेटौंडा सिमेन्ट प्रालि, शुभश्री अग्नि सिमेन्ट, मेघालय सिमेन्ट लिमिटेड, पाइप उद्योगहरुमा रिजाल्को फेनोलेक्स पोलिपार्क इन्डस्ट्री, हिलटेक प्लास्टिक एन्ड पाइप इन्डस्ट्री पञ्चकन्या प्लास्टिक प्रालि लगायत उद्योग छन् भने छड उद्योगहरुमा सिद्धि लक्ष्मी स्टिल्स प्रालि, हिमाल आइरन एन्ड स्टिल्स प्रालि, जिन्दल स्टिल एन्ड पावर लिमिटेड रहेका छन् । यसैगरी रङ, तेल तथा बिस्कुट लगायत उद्योगहरुले समेत गुणस्तर चिह्न लिएका छन् । यसअन्तर्गत कुसुम आयल इन्डस्ट्री र पोखरा फूड्स प्रालि रहेका छन् । विभागले स्वदेशीभन्दा पनि विशेष गरी भारतबाट भित्रिने सामग्रीको नापतौल र गुणस्तर मापन गर्दै आएको छ । पछिल्लो समय भने गुणस्तर चिह्न लिनेमा स्वदेशीका साथै विदेशी सामग्री बढेको छ । विभागले आर्थिक वर्ष २०७३÷७४ देखि विदेशमा उत्पादित वस्तुलाई पनि गुणस्तर चिह्न दिन दिन थालेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij