२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यातायात व्यवसायीले बैंकमा बुझाए गाडीको चाबी

यातायात व्यवसायीले बैंकमा बुझाए गाडीको चाबी

1.8K
Shares

काठमाडौं– पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ।

कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकहरुले ऋणको मासिक किस्ता भुक्तानीका लागि दबाब दिन थालेपछि व्यवसायीले पोखरामा गाडीको चाबीनै बैंकलाई बुझाउने अभियान शुरु गरेका हुन्।

प्रालिले आज एनएमबी बैंकमा ३०, मुक्तिनाथमा २५, गरिमामा १७ तथा प्राइम बैंकमा १८ गरी ९० गाडीको चाबी बुझाएका छन्।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घबाट नेपाल सरकार तथा राष्ट्र बैंकसमक्ष हालको विषम् अवस्थामा किस्ता तिर्ने समय न्यूनतम छ महिना थप गर्न आग्रह गरे पनि सुनुवाई नभएपछि बाध्य भएर गाडीको चाबी बुझाउन शुरु गरिएको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए।

“हामीले बैंकलाई किस्ता तिर्दनौँ भनेका छैनौँ, तर गाडी ठप्प भएर कमाइ नभएको अहिलेको अवस्थामा समेत बैंकहरुबाट व्यवसायीलाई निरन्तर ताकेता हुन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ”, अध्यक्ष केसीले भने, “अहिलेको अवस्थामा किस्ता भुक्तानी गर्ने समय छ महिना पछि सार्न माग गरे पनि कहीँकतैबाट पनि सम्बोधन भएन।”

प्रालिले मातहतका एक हजार ४०० गाडीकै चाबी बुझाइने जनाएको छ । बैँक तथा वित्तिय संस्थाबाट ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानीमा यातायात व्यवसाय सञ्चालन हुँदै आएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij