भारत – भारतमा मंगलबार मध्यरातबाट देशभरि २१ दिनकाे ‘लक-डाउन’ लागू गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्।
भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५०० नाघेपछि पूरै देश ‘लक-डाउन’ गरिएको हो। यो संख्यालाई यस्तो विन्दु मानिन्छ, जहाँबाट कोरोना भाइरस फैलिने क्रम तीव्र गतिमा बढ्न सक्छ।
‘आगामी २१ दिन हाम्रो दिन अत्यन्तै संवेदनशील छ,’ उनले भने, ‘यसबीच तपाईंहरू जहाँ जहाँ हुनुहुन्छ, ‘त्यहीँ त्यहीँ घरभित्रै बस्नुहोला।’
मोदीले पछिल्लो एक सातामा दोस्रोचोटि यस्तो सम्बोधन गरेका हुन्। अघिल्लो सम्बोधनमा उनले आइतबार एक दिन ‘जनताको कर्फ्यू’ लागू गर्दै सर्वसाधारणलाई घरबाट ननिस्कन आह्वान गरेका थिए। त्यसयता संक्रमण फैलिने क्रम जारी रहेपछि पूरै देश ‘लक-डाउन’ गरिएको हो।
भारतमा ५१९ जनामा कोरोना भाइरस देखिएको छ भने १० जनाको मृत्यु भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij