काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली पुरै सक्रिय हुने ६ महिनासम्म लाग्ने चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति आफूहरु कन्फिडेन्स नभएसम्म डिस्चार्ज नगर्ने बताएकी छिन्।
त्रिवि शिक्षण अस्पतालमा पत्रकारहरुसंग कुराकानी गर्दै डा. सिंहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको बताइन्। ‘यद्यपी हामी कनफर्म र कन्फिडेन्स नभएसम्म डिस्चार्ज गर्दैनौं’ उनले भनिन्।
सम्भवतः अबको २–३ दिनमा ओलीलाई डिस्चार्ज गर्न सकिने उनको भनाइ छ। अहिले नै ओलीलाई डिस्चार्ज गर्न सकिने अवस्था रहे पनि भीडभाडमा जान नहुने भएकाले केही दिन अस्पतालमा राख्न खोजिएको उनले बताइन्। सामान्य मानिसले जस्तै जिउन ओलीलाई ६ महिनादेखि १ वर्षसम्म लाग्ने शाहले बताइन्।
ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण भएको ६ दिन बित्दा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको संलग्न चिकित्सकहरुले बताउँदै आएका छन्।
‘अरूको प्रत्यारोपण गर्दा जे प्रक्रिया अपनाइन्छ। प्रधानमन्त्रीकोमा पनि ती सबै प्रक्रिया अपनाइएको छ,’ शाहले भनिन्,‘सबै कुराको भिडिओ रेकर्ड राखिएको छ। प्रधानमन्त्रीलाई अरू तीन(चार जनाले पनि मिर्गौला दिन खोजेका थिए तर समीक्षाजीको धेरै मिलेकाले उहाँले दान गर्नुभएको हो।’
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij