काठमाडौं– काठमाडौं बाफलमा रहेको बर्नहार्ट कलेजलाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रमाणपत्र दिएको छ।
आयोगबाट सञ्चालित उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रणालीमा आबद्ध भई कलेजले संस्थागत मूल्यांकनका सबै चरण पूरा गरी क्विएए प्रमाणपत्र पाएको हो।
आयोगले बिहीबार कलेजलाई क्यूएए प्रमाणपत्र दिएको हो। उक्त क्यूएए प्रमाणपत्र पाँच वर्षका लागि हो। त्यसपछि आयोगले पुनः नवीकरण गर्नुपर्छ। कलेजका तर्फबाट वर्षेनी एकेडेमिक अडिट पेश गर्नुपर्ने नियम पनि छ।
शनिबार पत्रकार सम्मेलन गरेर क्यूएए प्रमाणपत्र पाउने नेपालकै पहिलो कलेज बर्नहार्ट भएको जानकारी कलेजले दिएको हो।
‘त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित निजी उच्च शैक्षिक संस्थाहरूमध्ये क्यूएए प्रत्यायनकृत हुने नेपालकै पहिलो निजी कलेज बन्न सफल भएकोमा बर्नहार्ट कलेज परिवार खुसी छौं,’ कलेज प्रमुख सहदेव सिग्देलले पत्रकार सम्मेलनमा भने।
यो कलेजमा स्नातक र स्नातकोत्तर तहमा गरी करिब पाँच सय जना विद्यार्थी अध्ययनरत रहेको उनले बताए। ‘गुणस्तरीय उच्च शिक्षाको सेवा प्रवाह गर्ने कलेजको उद्देश्यमा क्यूएए प्रमाणपत्र प्राप्तिले थप उत्साह र मनोबल प्राप्त भएको छ,’ सिग्देलले भने।
२०६० सालमा खुलेको यो कलेजले त्यसको दश वर्षपछि क्यूएए प्राप्तिका लागि प्रक्रिया सुरू गरेको थियो। ‘२०७५ सालमा बिसिए प्रथम सेमेस्टरको बोर्ड परीक्षामा यस कलेजका विद्यार्थी शतप्रतिशत उत्तिर्ण भएका थिए,’ क्विएए प्राप्तिका लागि शैक्षिक गुणस्तर पनि एक रहेको बताउँदै सिग्देलले भने, ‘कलेजमा कूल पास प्रतिशत ८० प्रतिशतभन्दा माथि छ।’
क्यूएए प्राप्तिपछि विदेश पढ्न गएका विद्यार्थीलाई सजिलो हुने र शिक्षकलाई पनि रिसर्चलगायतमा सहयोग पुग्ने विश्वास लिइएको उनले बताए।
बर्नहार्ट कलेजलाई गत भदौमा शिक्षा मन्त्रालयले उत्कृष्ट निजी विद्यालयका रूपमा दुई लाख ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मान पत्र दिएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij