काठमाडौं – अबदेखि बैंकमा सुन राखेर पनि ब्याज पाइने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई बिहीबारदेखि कार्यान्वयनमा ल्याएसँगै अबदेखि सुनलाई पनि निक्षेपको रुपमा राख्न पाइने भएको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई परिपत्र जारी गर्दै सुनलाई समेत निक्षेपको रुपमा स्वीकार गर्न सकिने व्यवस्था गरेपछि यो बाटो खुलेको हो । परिपत्रअनुसार वाणिज्य बैंकहरुले ९९५ फिटनेस गुणस्तरको सुन निक्षेपको रुपमा स्वीकार गर्न पाउँनेछन् ।
बैंकहरुले कम्तीमा २५ ग्राम सुन निक्षेपको रुपमा लिन सक्नेछन् । त्यस्तै, आफूले जम्मा गरेको सुनको साँवा र ब्याज सुनमै लिने हो कि नगदमा लिने हो भन्नेबारे समेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तो निक्षेप कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्ष हुनसक्ने व्यवस्था गरिएको छ । ब्याजदर भने बैंकहरु आफैंले निर्धारण गर्न सक्नेछन् । तर ब्याजको भुत्तानी भने त्रैमासिक गणनाको आधारमै गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै १० लाख वा सोभन्दा बढी सुन निक्षेप राख्ने ग्राहकका लागि भने स्रोत खुलाउनुपर्ने व्यवस्था गर्नुपर्ने राष्ट बैंकले जानकारी दिएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij