काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ब्रान्ड एम्बेस्डरमा युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुन नियुक्त भएका छन् । नयाँ–नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा सोमबार आयोजित समारोहमा ब्रान्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष पुनले हस्ताक्षर गरे ।
हस्ताक्षरपछि प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाई दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्रान्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए ।
सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्रान्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताए । वि.सं.१९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रूपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८३ वर्षको इतिहास बनाएको छ ।
बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत सेयर हिस्सा छ । बैंकले देशको ६३ जिल्लामा रहेका १७८ शाखा, २६ एक्स्टेन्सन काउन्टर तथा ११९ एटीएममार्फत सेवा दिँदै आएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij