काठमाडौं – नेपाल ट्रस्टको कुल जग्गा साढे २१ हजार रोपनीभन्दा बढि रहेको छ । नेपाल ट्रस्टको नेपालभर कुल २१ हजार ५ सय ६२ रोपनी, ४ आना, २ पैसा, १ दाम भएको पाइएको हो ।
ट्रस्टको सबैभन्दा बढी जग्गा धादिङमा छ । धादिङमा कुल जग्गाको ७० प्रतिशत अर्थात् १५ हजार १ सय १ रोपनी जग्गा छ भने काठमाडौंमा २१ दशमलब ६१ प्रतिशत अर्थात् ४ हजार ४ सय ४२ रोपनी जग्गा छ ।
ट्रस्टको अरु जग्गा भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, सुर्खेत र कास्कीमा छरिएर रहेको छ ।
ट्रस्टका कतिपय जग्गा मोहीले भोगचलन गर्दै आएका छन् भने कोही लिजमा दिइएको छ । कोही जग्गा भने सरकारी कार्यालय र विद्यालयहरूले निःशल्क भोगलचन गर्दै आएको नेपाल ट्रस्टको कार्यालयले जानकारी दिएको छ ।
कहाँ कति ?
काठमाडौं
काठमाडौंको महराजगञ्जमा रहेको निर्मल निवास अगाडिको १ रोपनी ७ आना घरजग्गा ट्रस्टको नाममा छ । सो पूरै जग्गा कम्पाउन्ड वालले घेरिएको छ भने बीचमा घरसमेत छ ।
बालाजुमा ससाना कित्तामा छरिएर रहेका १२ रोपनी जग्गा ट्रस्टको हुन् । ती जग्गा मोहीहरूले नै खेती तथा बसोबासका लागि प्रयोग गरिरहेका छन् । ती जग्गा मन्त्रिपरिषद्को पूर्वाधार विकास समितिले २०६९ भदौ ११ मा निर्णय गरी मोहीको नाममा नामसारी गरिदिएको छ । सोबारे सरकारी जग्गासम्बन्धी आयोगमा नेपाल ट्रस्टले उजुरी गरेको दाबी ट्रस्टको छ ।
यसैगरी टेकुमा ट्रस्टको १९ रोपनी जग्गा छ । कालीमाटी–टेकु गणेशमान पथमा अवस्थित चारैतर्पm कम्पाउन्ड वालले घेरिएको टाउन डेभलपर्स प्रालिद्वारा सञ्चालित काठमाडौं बिजनेस कम्प्लेक्सका नाममा आधुनिक भवनहरू पूर्ण व्यापारिक प्रयोजनमा भाडामा प्रयोग भइरहेको छ । सो जग्गा लिजमा दिइएको हो ।
कालीमाटीको सोल्टी होटल नजिकै ४ रोपनी ४ आना जग्गामा थामसेर्कु ट्रेकिङ प्रालिले लिजमा लिई भवन निर्माण गरिरहेको छ ।
कालीमाटीमै ३८ रोपनी जग्गामा सार्वजनिक खरिद अनुगमन कार्यालय, रेडक्रस, श्रम कार्यालय र गरिबी निवारण कोषले भाडामा उपभोग गरिरहेका छन् ।
स्वयम्भु छाउनीमार्गमा प्रेरणा राज्यलक्ष्मी सिंहले उपभोग गरिरहेकी छन् । ट्रस्ट सञ्चालक समितिको २०७६ मंसिर २४ गतेको बैठकले सो घरजग्गा खाली गर्न सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ । सर्वोच्च अदालतले सो जग्गा नेपाल ट्रस्टको नाममा प्रस्तुत सम्पत्ति कायम हुने अन्तिम फैसला गरेको छ ।
छाउनीमा २ रोपनी १३ आनामा घरजग्गा छ जुन ट्रस्टको संरक्षणमा छ ।
बालाजुमा काठमाडौं–त्रिशूली जाने बाटोसँग जोडिएको व्यापारिक प्रयोजनयोग्य १ सय २२ रोपनी जग्गा ट्रस्टको हो । सो जग्गा हाल खाली र खुला छ ।
ठमेलबाट सामाखुसी जाने ओरालो बाटोबाट पश्चिम गोरेटो बाटोमा पर्ने ९ आना जग्गामा मोहीले घर तथा बसोबासका रूपमा प्रयोग गर्दै आएका छन् ।
फर्पिङमा ६८ रोपनी जग्गा त्रिभुवन आदर्श माविले निःशुल्क प्रयोग गरिरहेको छ ।
सतुंगलमा १ रोपनी ६ आना, मातातीर्थमा ५९ रोपनी १ आना, महादेवस्थान–४ मा १ सय २ रोपनी जग्गा मोहीले खेती तथा बसोबासका लागि प्रयोग गरिरहेका छन् । ती जग्गा मन्त्रिपरिषद्को पूर्वाधार विकास समितिले २०६९ भदौ ११ मा निर्णय गरी मोहीको नाममा नामसारी गरिदिएको छ । त्यसबारे सरकारी जग्गासम्बन्धी आयोगमा नेपाल ट्रस्टले उजुरी गरेको दाबी ट्रस्टको छ ।
दरबारमार्गमा १ रोपनी १४ आना जग्गा थामसेर्कु ट्रेकिङलाई लिजमा दिइएको छ । सो जग्गामा भवन निर्माण भइसकेको छ । लाजिम्पाटमा ६ रोपनी १३ अना जग्गा स्ट्यान्डर्ड चार्टर्ड बैंकले लिजमा लिई आफ्नो कार्यालय सञ्चालन गरिरहेको छ । बैंकले २०५० सालमा २७ वर्षका लागि सो जग्गा लिजमा लिएको हो ।
ट्रस्टकै नाममा रहेको काठमाडौं प्लाजा कन्सेप्ट डेभलपर्सले लिजमा लिएको छ । त्यहाँ ट्रस्टको ५ रोपनी जग्गा छ । सो जग्गा २०५० देखि २७ वर्षका लागि लिइएको हो ।
ट्रस्टको नाममा रहेको अर्को विवादित जग्गा हो गोकर्ण रिसोर्ज । ३ हजार ९ सय ७२ रोपनी पर्खाल तथा तारबारले घेरिएको गोकर्ण जंगलमा रहेको जग्गामध्ये २ हजार ७ सय ९२ रोपनी जग्गामा एलएम सुभिर ब्रदर्स (नेपाल) ले लिजमा लिई अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट र गल्फ कोर्स निर्माण गरी सञ्चालन गरिरहेको छ ।
सो जग्गाको पुरानो सम्झौताअनुसार लिज अवधि ३० वर्ष छ । सन् १९९५ अगस्टदेखि २०२५ अगस्टसम्मका लागि लिज लिइएको छ । २०७६ कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले लिज अवधि सन् २०५० अगस्ट १४ सम्म थप गरेको छ ।
साँखुमा पनि २ रोपनी ३ आनामा ससाना कित्तामा छरिएर रहेको छ । सो जग्गा मोहीले खेती तथा बसोबासका लागि प्रयोग गरिरहेका छन् ।
कालीमाटीमा हिमालय वीरविक्रम शाह मोही रहेको ३ रोपनी ७ आना जग्गा पनि ट्रस्टको हो ।
ललितपुर
गोदामचौरमा ८ रोपनी १० आना खोलाको छेउ र आलीको बाटोमा टुक्राटुक्रा अवस्थाको जग्गा ट्रस्टको हो । सो जग्गा मोहीले भोगचलन गरिरहेका छन् ।
भक्तपुर
कटुञ्जेमा ट्रस्टको नाममा १ सय ८ रोपनी २ आना जग्गा छ । अरनिको राजमार्गसँग जोडिएको, पूर्वमा भक्तपुर सहर जाने बाटो, पश्चिममा कच्ची मोटरबाटो, उत्तरमा हनुमन्ते खोला, दक्षिणमा अरनिको राजमार्गमा पर्ने खुला रूपमा रहेको ती खाली जग्गा उपयोग हुन बाँकी छ । ती जग्गामा हाल पर्खाल लगाएकोमा नेपाल ट्रस्टको कार्यालयले सुरक्षाकर्मी राखेर संरक्षण गरिरहेको दाबी गरिएको छ ।
भक्तपुरकै बोडेमा ट्रस्टको ५ रोपनी जग्गा छ । ती जग्गा हाल मोहीले उपभोग गरिरहेका छन् भने जग्गाधनी प्रमाण पुर्जा आउने प्रक्रियामा छ ।
धादिङ
धादिङको छेदेउरालीमा अधिकांश वनजंगलका रूपमा प्राप्त भएको प्रयोगविहीन जग्गा छ । त्यहाँ कुल १५ हजार १ सय १ रोपनी जग्गा रहेको ठ्रस्टले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको थाङपाल धापमा ट्रस्टको २७ रोपनी १३ आना जग्गा छ । ती जग्गा इन्द्रावती खोलाको छेउमा खोला वारिपारि टुक्राटुक्रा, आलीको बाटो, धानखेती योग्य जग्गा हुन् । दुर्गम स्थानमा रहेका कारण ती जग्गा उपभोगमा आउन सकेका छैनन् ।
नुवाकोट
नुवाकोटको थानसिंह र गणेस्थानमा ट्रस्टको २ सय ४० रोपनी ५ आना जग्गा छ । उत्तरमा लिखु खोला जाने बाटो, दक्षिणमा रानीपौवा जाने बाटोमा अवस्थित ती जग्गा फलफूल बगैंचा र जंगलका रूपमा प्रयोग भइरहेको छ ।
धनकुटा
धनकुटाको चुलिवनमा १ सय ९४ रोपनी जग्गा ट्रस्टको नाममा छ । ती जग्गाको पूर्व, उत्तर र दक्षिणतर्पm कच्ची मोटरबाटो छ । जसको प्रायःजसो सिमानामा तारबार लगाएको छ । सो जग्गाको करिब आधा क्षेत्रफलमा निजामती कर्मचारीका छोराछोरीका लागि आवासीय विद्यालय भाडामा सञ्चालनमा छ ।
हेटौंडा
हेटौंडामा ट्रस्टको पूर्व–पश्चिम राजमार्गसँग जोडिएको हेटौंडा बजारस्थित वनविज्ञान अध्ययन संस्थान र भुटनदेवी मार्गका बीचमा चारैतिर कम्पाउन्ड वालले घेरिएको घर सहितको महत्त्वपूर्ण सम्पत्ति छ । व्यापारिक काममा प्रयोग हुनसक्ने सो जग्गा २६ रोपनी १ आना क्षेत्रफलको छ ।
काभ्रे
काभ्रेको पाँचखालमा ९ रोपनी १५ आना जग्गा चौरको रूपमा छ । साविकको पाँचखाल गाविस ३ स्थित कित्ता नं. १८३ र १८४ को जग्गामा खावाचोकबाट पूर्वतिर करिब दुई किमि टाढा कच्ची मोटरबाटोसँग जोडिएको छ । जग्गाको तारबार भत्किएकाले पुनः तारबार वा पर्खाल लगाउनुपर्ने स्थितिमा छ ।
सुर्खेत
सुर्खेतकोलाटी कोइलीस्थित नेपालगन्ज–सुर्खेत सडकस्थित जग्गा खुला र जंगलका रूपमा रहेको ४ सय ५७ रोपनी जग्गा ट्रस्टको हो ।
पोखरा
पोखरामा ट्रस्टको १ सय ७४ रोपनी जग्गा छ । महानगरपालिका वडा नं. ६ र ७ मा ऐतिहासिक र पर्यटकीय रूपले महत्त्वपूर्ण रत्न मन्दिर, हिमागृहजस्ता ऐतिहासिक दरबार रहेको जग्गा छ । साथै, फेवाताल किनारको र रत्नचोकस्थित मूलबाटोको जग्गा व्यापारिक महत्त्वका रूपमा रहेको ट्रस्टले जनाएको छ ।
रत्न मन्दिर र हीमा गृहको सुरक्षा नेपाली सेनाले दिइरहेको छ । सो जग्गामा म्युजियम पार्क बनाउन अध्ययन प्रतिवेदन प्राप्त भएको छ । पोखरामा जम्मा चारवटा स्थानमा जग्गा छ ।
चितवन
चितवनको भरतपुरमा ट्रस्टको नाममा ७ सय ६७ रोपनी जग्गा छ । सो जग्गा नारायणी नदीको किनारमा ऐतिहासिक दियालो बंगला दरबार छ । उक्त जग्गा तथा दरबारलाई हाल नेपाली सेनाले सुरक्षा दिइरहेको छ । ट्रस्टका नाममा दियालो बंगलाको राजमार्गको पूर्वतर्फ समेत जग्गा छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij